पोखरा ३२ असार ।
कृषि उद्यम केन्द्र नेपाल उद्योग वाणिज्य महासंघद्वारा कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीको प्रमुख आतिथ्यतामा बुधबार महासंघ सचिवालयमा आयोजित एक गाउं एक उत्पादन कार्यक्रम राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न भयो । कार्यक्रम लागूभएका ३२ वटा जिल्लाको अनुभव आदान–प्रदान गर्ने तथा कार्यक्रम कार्यान्वयनका क्रममा देखा परेका चुनौती एवं समस्याका विषयमा छलफल गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो । नेपाल सरकार÷कृषि विकास मन्त्रालयसंगको सहकार्यमा कृषि क्षेत्रको व्यवसायीकरणका लागि नेपाल उद्योग वाणिज्य महासंघले कृषि उद्यम केन्द्र मार्फत एक गाउं एक उत्पादन कार्यक्रम (ओभोप) अन्तर्गत २३ वटा कृषि उत्पादन संचालन गर्दै आएको छ । आर्थिक वर्ष २०६३÷६४ मा ४ वस्तु र ७ जिल्लाबाट शुरु गरिएको यो कार्यक्रम सार्वजनिक निजी साझेदारीमा संचालित सफल कार्यक्रम हो । उक्त गोष्ठीलाई संवोधन गर्दै कृषि मन्त्री पराजुलीले नेपालको सन्दर्भमा कृषि क्षेत्रको विकासबाट मात्रै अर्थतन्त्रको विकास हुने प्रचुर सम्भावना रहेकाले कृषि क्षेत्रको व्यवसायिक विकासमा सरकारले निजी क्षेत्रसंगको सहकार्यमा काम गर्ने विश्वास दिलाए । यसपालिको वजेटमा नयाँपन रहेको र कृषि क्षेत्रको विकासका लागि धेरै कार्यक्रम आएको मन्त्री पराजुलीले बताए । कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले एक जिल्ला एक उत्पादन कार्यक्रमको सफल संचालनको सराहना गर्दै कृषि उद्यम केन्द्रबाट संचालनमा रहेका एक गाउँं एक उत्पादन कार्यक्रम
(ओडोप)लाई विस्तारै स्थानीय तहबाटै दीगो रुपमा संचालनको जिम्मेवारी दिने पक्षमा मन्त्रालय रहेको जानकारी गराए ।
सभापतिको आशनबाट महासंघका वरिष्ठ उपाध्यक्ष पशुपति मुरारकाले एक जिल्ला एक उत्पादन र एक गाउं एक उत्पादन कार्यक्रमलाई महासंघले आफ्नो महत्वपूर्ण कार्यक्रमको रुपमा लिएको र यसलाई स्थानीय क्षेत्रमा रोजगारी सृजना र आर्थिक जीवनस्तर सुधारको प्रमुख माध्यमको रुपमा आगामी दिनमा विकास गर्दै लैजाने बताए । महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले व्यवसायिक कृषि क्षेत्रलाई अगाडि बढाउन सकिएमा समष्टिगत आर्थिक विकासमा ठूलो फड्को मार्न सकिने बताए ।
कृषि उद्यम केन्द्रका सभापति भवानी राणाले संचालनको छोटो अवधिमै कार्यक्रम निकै सफलरुपमा अगाडी बढेको र यसबाट कार्यक्रम क्षेत्र विस्तार हँुंदै गएको, उत्पादन वृद्धि भएको, गुणस्तरीय उत्पादन सदृढ हुंदै आएको, वजार व्यवस्थापन र स्थानीय वासिन्दाहरु लाभान्वित हुंदै आएको बताए । कार्यक्रममा कृषि उद्यम केन्द्रका प्रमुख कार्यकारि प्रदीप महर्जनले ओभोपको परिचय र वर्तमान स्थिति, दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष रामेश्वर मानन्धरले ओभोप कार्यक्रम लागू भएका पांचै विकास क्षेत्रमा संचालित ओभोप कार्यक्रम र नुवाकोट उद्योग वाणिज्य संघका राजन श्रेष्ठले नुवाकोट जिल्लामा टूाउटको सफलताका विषयमा अनुभव आदान प्रदान गर्नु भएको थियो । कार्यक्रममा ओभोप लागू भएका ३२ जिल्लाका उद्योग वाणिज्य संघका पदाधिकारी एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
Post a Comment