0
निबन्धकार कुमारी लामाको पहिलो निबन्धसङ्ग्रह ‘उज्यालो अन्धकार’ को शनिबार पोखरामा चर्चा गरिएको छ । एडी इन्टरटेनमेन्ट हाउसको आयोजनामा भएको कार्यक्रममा पुस्तकको समीक्षा गर्दै समालोचक मदन भण्डारीले ‘उज्यालो अन्धकार’ मानवीय संवेदना बोकेको कृति भएको बताए । समकालीन युवाहरुको पिडालाई प्रस्तुत गर्न कृति सफल भएको भन्दै भण्डारीले निबन्धकार लामामा पारिजातको भावुकताको प्रभाव देखिने बताए ।यस्तै, अर्का समिक्षक रुपिन्द्र प्रभावीले कुमारी लामाका निबन्धमा आख्यान र काव्यको स्वाद पाइने बताए । “तथ्यहरुको सहयोग र सङ्कलनभन्दा बढी हृदयको सहयोग र भावनाको सङ्कलनमा यी निबन्धहरु लेखिएका हुन्” उनले भने–“कविताले जस्तो झङ्कार दिने सामथ्र्य राख्ने कुमारीका निबन्धहरु अस्तित्त्वकै घोषणापत्र हुन् ।”हाउसका सञ्चालक अनुज कुलुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार सरुभक्तले साहित्य भौगोलिक सीमाभन्दा माथि उठ्नुपर्ने तर्क राखे । लेखकमा सबै खाले विचारलाई स्विाकार्ने क्षमता हुनुपर्ने भन्दै सरुभक्तले निबन्धलाई जोखिमपूर्ण विधाका रुपमा चित्रण गरे । “यो जोखिममा कुमारी लामाले धेरै हदसम्म आफूलाई सफल सावित गरेकी छिन्” उनले भने, “कुमारीको सम्भावना आख्यानमा पनि उत्तिकै देखिएको छ ।”
यस्तै, निबन्धकार कुमारी लामाले आफूले कृतिमा आत्मकथा नभई निबन्ध लेखेकाले यसमा आफ्ना जीवनका यथार्थ मात्र नखोज्न पाठकलाई आग्रह गरे । “यात्रा र भोगाइका सम्बन्धमा मनमा आएका भावनाहरुलाई मैले इमानदारीपूवर्क कृतिमा प्रस्तुत गरेकी छु” लामाले भने,–“यसप्रति पाठकका जस्तासुकै भावनाको पनि म कदर गर्ने छु ।” कार्यक्रममा लामाको परिचय कार्यक्रम संयोजक दीपक पराजुलीले दिएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सन्तोष बस्यालले गरेका थिए । कार्यक्रममा कवि तीर्थराज अधिकारी, ¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालका उपाध्यक्ष महेन्द्र रिमाल, साहित्यकार दुर्गाबहादुर शाह ‘बाबा’ लगायतले पनि शुभकामना दिएका थिए ।लामाको पहिलो कृतिका रुपमा आएको उज्यालो अन्धकारमा २५ वटा आत्मपरक निबन्धहरु समेटिएका छन् । यसअघि गीता त्रिपाठीको एकल कविता वाचन कार्यक्रम सम्पन्न गरेको हाउसका सञ्चालक अनुज कुलुङले साहित्यका कुनै विधामार्फत् जीवनमा मनोरञ्जन लिन सक्ने संस्कारको विकासमा आफूहरु लागिपर्ने सो अवसरमा बताए ।

Post a Comment

 
Top