पोखरा ३२ असार ।
पोखराको सभागृहचोकमा बुधबार बिहान अप्रत्याशित र अकल्पनीय सवारी दुर्घटना भएको छ । दुर्घटनाका कारण धादिङ घर भएका २४ वर्षीय गोविन्द गिरीको मृत्यु भएको छ भने एउटा मोटरसाइकल मर्मत गर्न समेत नमिल्ने गरी क्षति भएको छ । यसैगरी एउटा स्कूटर पनि पूर्णरुपमा क्षति भएको छ । अझ भन्ने हो भने सभागृहचोक बाट दक्षिणतर्फको फलामको रेलिङ भाँचेर फूटपाथ समेत पार गरी तिव्बतीयन शरणार्थी क्याम्पको दुई वटा सटरमा समेत ठूलो क्षति पुगेको छ ।
पोखराको बगरबाट लेकसाइड का लागि छुटेको ग१ख ३८८६ नं. को स्थानीय माइक्रोबस का कारण उक्त दुर्घटना र क्षति भएको हो । बसका चालक कास्कीको कास्कीकोट–१ का दीपक वि.क.ले नदीपुरदेखि नै तीव्र गतिमा बस गुडाउँदै आएका थिए । दुर्घटना हुनुअघि उनले महेन्द्रपुल, चिप्लेढुङ्गा हुँदै न्यूरोडबाट लेकसाइड जानेक्रममा नदीपुर र विपिचोकमा समेत सडकका पैदलयात्रीलाई झण्डै ठक्कर दिएर दुर्घटना गराउन खोजेको प्रत्यक्षदर्शीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।
चिप्लेढुङ्गामा केही समय बस रोकेर न्यूरोड हुँदै अघि बढ्नेक्रममा उनले एक मिनेटमा सभागृहचोक पु¥याउँछु भनेको समेत कतिपयको भनाइ छ । सायद तीव्र गतिमा बस हाँक्ने उनको चाहनाका कारण नयाँ सडकबाट अघि बढेको बस सभागृहचोकको ट्राफिकपोष्टबाट मोडिन सकेन । तीव्र गतिको बस सिधै अघि बढ्दा सडक छेउमा पार्किङ गरिराखेको दिनेश बरालको ग६प ४१४७ नं. को मोटर साइकल र ईश्वरीप्रसाद पौडेलको ग३प ९६९२ नं. स्कूटरमाथि नै चढेर फलामको रेलिङ भाँच्दै सटरभित्र पस्न पुग्यो । बिहान करिब साढे आठ बजेको समय भएकोले सडक किनारामा मानिसहरुको चहल–पहल त्यति थिएन । त्यसैले पनि अझ धेरै मानवीय क्षति हुने सम्भावना ट¥यो । तैपनि सडक किनारामा हिंड्दै गरेका धादिङ जिल्ला खाल्टे गाविस वडा नं. १ का गोविन्द गिरीलाई बसले सिधै ठक्कर दिंदा उनी गम्भीर घाइते हुन पुगे र तत्कालै उपचारका लागि अस्पताल पु¥याएको भएपनि चिकित्सकले उनको निधन भएको घोषणा गरे ।
बसको ठक्करबाट मृत्यु भएका गिरी पोखराको न्यूरोडमा बस्दै आएको र उनी मजदूरको रुपमा काम गर्दै आएका थिए । कास्कीका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक कृष्ण अर्यालले गोल्डेन न्यूज दैनिकलाई दिएको जानकारी अनुसार दुर्घटनाग्रस्त बसलाई त्यहाँबाट हटाउनेक्रममा बसको ब्रेक पूर्णरुपमा फेल भएको भेटिएपनि चिप्लेढुङ्गा क्षेत्रमा बस रोकेर अघि बढेको भन्ने जानकारी आएकोले थप अनुसन्धान भइरहेको छ । तिव्बतीयन शरणार्थी क्याम्पको विक्रम केसीको ओपिन्द्र स्टोर्सको दुइवटा सटरमा बसले ठूलो क्षति पु¥याएको भएपनि संगै रहेको रीता बरालको रिलिफ कस्मेटिकमा समेत क्षति पुगेको छ । दुर्घटनामा बाग्लुङ घर भएका ५० वर्षीय खिमकुमार श्रेष्ठ र स्याङ्जा घर भइ हाल मासबार पोखरा बस्ने प्रतिक्षा बराल घाइते भएकोमा उपचार पछि दुवैजना घर फर्किएका छन् ।
दुर्घटना पछि लामो समयसम्म त्यस ठाउँमा हेर्न जाने दर्शकको ठूलो भीड लागेको थियो । प्रहरीले दुर्घटनाग्रस्त बस र चालकलाई नियन्त्रणमा लिइ आवश्यक कार्वाही शुरु गरेको कास्कीका प्रहरी नायव उपरीक्षक केदार रजौरेले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए
Post a Comment