0
सुमन थापा मगर
 

नेपाल एउटा विकासन्मोख देश जहाँ काम गर्नका लागि निकै समस्याहरु भोग्नु पर्छ । रोजगार सिर्जना नहुनु कुरा हो । देशका आधा भन्दा बढी युवाहरु रोजगारको अभावले गर्दा नै विदेशीन बाध्य छन् । कतिपय शिक्षित भएर पनि हातमा आफ्नो डकुमेन्ट्सहरु लिएर हिड्दा हिड्दै जागिर नपाएपछि विदेश जाने गरेका छन् भने कतिपयले आफूसंग ज्ञान नभएपछि अर्काको देशमा काम गर्न जान बाध्य छन् । यो नेपालको लागि पनि निकै दुर्भाग्यपूर्ण कुरा हो । किनकि कुनै पनि देशको भविष्य भनेको युवाहरुको हातमा हुन्छ । यो मामलामा नेपाललाई अभागी नै मान्नुपर्छ । तर पनि यो समस्याको दीर्घकालीन समाधान हुन सकिरहेको छैन । हुन त युवाहरु नेपाल छोडेर विदेशीनु रोजगार नपाएर मात्र होइन । यस्ता समस्याहरु धेरै नै छन् । रोजगार पाएर पनि अनेक थरीका समस्या भोग्नुपर्ने हुन्छ ।
विदेश जाने जति त गएका छन् नै, तर यहाँ बसेर काम गर्ने व्यक्तिहरुको लागि पनि केही सजिलो छैन । काम गरे जति आफूहरुले पारिश्रमीक नपाउनु र चाकरी नगरेसम्म काम गरेको जस नपाउनु अहिलेको समयमा नेपालमा नै बसेर केही गर्छु, विदेश जान्न भन्ने युवाहरुको लागि ठूलो चुनौती बन्दै गएको छ । हरेक युवाको एउटा सपना हुने गर्छ आफूले कमाउने भएपछि आफ्नो परिवारलाई सुखमा राखौँ र मिठो मसिनो खुवाएर राम्ररी हेरचाह गर्न सकौँ तर बढ्दोे महँगी र परिर्वतन हुदै आएरहेको समयको कारणले गर्दा त्यो सपना नेपालमा बसेर जो कोहीले पुरा गर्न सक्दैन, कारण काम गरे अनुसारको फल पाइदैन र अगाडि बढ्नु छ र केही गर्नु छ भन्ने भावनालाई साथमा राख्ने हो भने धेरैजस्तो ठाउँमा चाकरी गर्नुपर्ने बाध्यता आइदिन्छ । यसको मतलब यो होइन कि सबै ठाउँमा चाकरी चल्छ । तर नेपालको धेरै जस्तो ठाउँमा आजको समयलाई नियाल्ने हो भने चाकरी नै चल्ने गर्छ ।
आखिर किन चल्छ चाकरी हरेक ठाउँमा ? हुनत चाकरी भन्ने कुरा नेपालमा मात्र होइन विश्वका ठूला–ठूला देशहरुमा पनि चल्ने गर्छ । हामीले यो शब्द धेरै कथा र कहानीहरुमा पनि नसुनेको होइन । त्यसैले पनि सामान्य जस्तो लाग्न सक्छ । तर जब काम गर्दा आफू भन्दा ठूलो व्यक्तिहरुलाई चाकरी गर्छ त्यो व्यक्तिले काम नगर्दा पनि केही हुदौ अनि सबैलाई अनुभव हुन थाल्छ । जब कसैले आफ्नो कामको महत्व दिन जान्दैन भने त्यस्तो काम गरेको कुनै महत्व नै हुदैन । जहाँ कामको कदर हुदैन , त्यहाँ काम गर्नेृ चाहना पनि हुदैन् । हुन त सबैको त्यस्तो विचार मनमा नआए पनि कोही न कोही व्यक्तिको मनमा त चाकरी गर्नैपर्छ भन्ने भावना आएको हुनुपर्छ । तर त्यस्तो व्यवहारले धेरै ठाउँमा राम्रो काम गर्न चाहने व्यक्तिहरुमा नैराश्यता छाइरहेको हुन्छ । त्यस्तो व्यवहार गर्न चाहने कर्मचारीहरुलाई पनि संस्थाको ठूला पदमा बसेका व्यक्तिहरुले रोकेर काममा ध्यान दिन आग्रह गर्नुपर्छ । मलाई यसले बढी महत्व दिन्छ भन्ने सोच राखेर आफ्नो पदको दुरुपयोग गर्दा कही न कही पदमा आशीन व्यक्तिहरुको नै गल्ती हुन्छ । किनकि आफूलाई ज्यू–ज्यू गरेको छ भन्दैमा उसको भविष्य राम्रो बन्छ भन्ने छैन । कसैको चाकरी गरेर कमाएको सफलता धेरै समयको लागि कहिले पनि टिक्दैन । बरु धेरै मेहनत गरेर पाएको सफलता नै ढिलै भएपनि काम लाग्न सक्छ ।
सामान्य रुपमा कुनै पनि संस्थामा काम गर्दा आफूभन्दा ठूलो पदमा भएको व्यक्तिहरुलाई नमस्कार गरेर सम्मान दिनु कुनै ठूलो कुरा त होइन । तर त्यो भन्दा अगाडि बढेर आफूसंग काम गरेका व्यक्तिको बारेमा कुरा लगाएर नराम्रो बनाउने काम गर्नु आफैमा कत्तिको तल्लो स्तरको काम हो त्यो सजिलै बुझ्न सकिन्छ । अझै पनि नेपालमा काम गर्न चाहने धेरै व्यक्तिले यस्ता समस्याहरु भोग्नुपरिरहेको छ । यस्ता–यस्ता विभिन्न अरु कारणले गर्दा नै नेपालमा केही गर्न सकिन्न भन्ने भावनाका साथ विदेशीन बाध्य छन् । हुनत नेपालमा रोजगारीको राम्रो व्यवस्था नभएर पनि होला । तर कही न कही चाकरी जस्तो सामान्य लाग्ने कुराले पनि धेरै समस्या निम्त्याइरहेको हुन्छ । कुनै–कुनै समयमा त चाकरी गर्न नजान्ने तर आफ्नो काम इमान्दारीताका साथ गर्ने व्यक्तिहरुले जागिर गुमाउनुपर्ने हुन्छ । त्यस्तो व्यवहार सकेसम्म आफ्नो संस्थामा नल्याउदा नै उचित हुन्छ, त्यसले गर्दा कर्मचारीहरु आउँदै छोड्दै जाने समस्या पनि हटेर जान्छ ।
आफ्नो संस्थालाई दिगो रुपमा सञ्चालनमा ल्याउनु छ भने कर्मचारीले काम गर्ने बातावरण सबैभन्दा पहिले निमार्ण गर्नुपर्छ । नत्र धेरै सपना बोकेर अनि केही गर्न सकिन्छ कि भन्ने भावनाका साथ थालेको संस्था नै त्यस्ता विभिन्न समस्याहरुको कारणले गर्दा धरासायी बन्न नजाला भन्न सकिन्न । चाकरीबाद् भन्ने कुरालाई आफ्नो संस्थाबाट हटाउन सके मात्र पनि धेरै समस्याहरु हटेर जानेछ । त्यस्तो वातावरण बन्न मात्र सके पनि विदेश गएर दुख गर्न नचाहाने व्यक्तिहरुले पनि राम्ररी काम गर्न सक्थे, साथै त्यस्ता समस्याले निम्त्याउने अरु विभिन्न समस्याहरु पनि हटेर जानेछ । किनकि कही न कही यस्ता सानो लाग्ने समस्याहरुले नै अर्को ठूलो समस्या निम्त्याएको हुन्छ । त्यसैले चाकरी गर्ने साथै ठूलो पदमा आशीन व्यक्तिहरुले पनि आफ्नो हद पार गरेर त्यस्तो व्यक्तिलाई साथ दिन छोडेर आफ्नो काममा ध्यानका साथ काम गर्नु जरुरी छ ।



Post a Comment

 
Top