0
सुमन थापा मगर

 पोखरा उपमहानगरपालिकाले शुक्रवार पोखराको मासु पसलमा गरिएको अनुगमन प्रतिवेदन सार्वजनिक गरेको छ । पोखरा उपमहानगरपालिका क्षेत्र भित्र रहेका आम उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै मासु तथा मासुबाट बन्ने खाद्य पदार्थमा हुन सक्ने मिसावट लगाएत अनियमितता रोक्न र मासुमा हुने स्वभाविक गुण तथा स्वाद बिग्रन नदिइ उपयुक्त स्तर राख्नका लागि विभिन्न सराकारवाला सरकारी कार्यालयका प्रतिनिधि सहितको एक टोलीले अनुगमन गरेको थियो ।  २०७० असोजमा गरिएको अनुगमन पछि २०७१ असार ३ गतेबाट पोखरा क्षेत्रभित्र रहेका साना–ठूला, मझौला मासु पसल, कुखुरा सप्लायर्स, खसी बजार अनुगमन गरिएको हो । पोखरा उमहानगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, पशु विकास कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय लगाएत कार्यालयको समन्वयमा गरिएको अनुगमनको निरीक्षण प्रतिवेदन पोखरा उपमहानगरपालिकाले शुक्रबार सार्वजनिक हो ।
टोलीले गरेको अनुगमनका क्रममा पोखरा क्षेत्रको मासु पसल निरीक्षणको क्रममा कतिपय कतिपय मासु पसलहरु मासु पसलजस्तो नदेखिएर सुत्ने, खाने, पकाउने जस्ता कार्यहरु एकै ठाउँमा भएको, झिँगा मार्ने विषादी प्रयोग गरेको, पसलमा साना बालकलाई राखिएको, मासु पसलमा पानीको प्रयोग नगरिएको, जस्ता विभिन्न समस्याहरु पाईएको अनुगमन टोलीका संयोजक बसन्त चालिसेले बताए । साथै मासु पसलमा प्रयोग गरिएको झिँगा मार्ने औषधी अनुगमन टोलीले जफत गरेको पनि चालिसेले जानकारी दिए । मासु पसलको इजाजत पोखरा उपमहानगरपालिकाले दिँदा पूर्व सहमती अनुसार कास्की जिल्ला खसी तथा कुखुरा मासु व्यवसायी समितिले सिफारीस गरेपछि मात्र लाइसेन्स दिने गरेको भएपनि कतिपय मासु पसल धनीले व्यवसायी समितिबाट मात्र इजाजत लिएको पनि पाइएको उनले बताए । विभिन्न कारणले गर्दा पोखराको सबै ठाउँमा निरीक्षण गर्न नसकिएपनि निरीक्षण गरिएको कतिपय पसलका पसलधनीहरुले समय–समयमा यस्तो निरीक्षण गर्नका लागि पनि आग्रह गरेका थिए ।
पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले मासु पसलमा भइरहेको अनियमिततालाई रोकेर पटक–पटक गल्ती गरेर सुधार्ने मौका दिदा पनि नसुध्रिनेलाई कारवाही गर्ने चेतावनी दिएका छन् । साथै, पोखरामा पशु बधशाला निमार्ण गर्नका लागि १० रोपनी जगा उपलब्ध गराउने प्रािबद्धता जनाए । त्यसको लागि सम्भाव्यता अध्ययन पनि भइरहेको उनले जानकारी दिए । पोखराको राम्रो भविष्य र उपभोक्ताहरुको स्वास्थ्यलाई ख्याल गरेर यस्तो कारवाही गर्न लागिएको हुनाले सबैलाई यो कामका लागि सहकार्य गरिदिन पनि अधिकारीले आग्रह गरेका छन् । साथै मासु पसलबाट निस्कने विभिन्न फोहरहरुलाई नियन्त्रण गर्नको लागि छुट्टै एउटा ट्याङ्करको व्यवस्था गरिने पनि उनको भनाई थियो ।
कार्यक्रममा पशु स्वास्थ्य कार्यालयका प्राविधिक फणिन्द्र ढकालले पोखरा १४ मा रहेको खसी बजार नेपालकै उत्कृष्ट बजार चुनिएको जानकारी दिए ।  सबै खालका मासु व्यवसायीहरु एकजुट भएर काम गरेको र नियमित रुपमा निरीक्षण गरेर मात्र मासु बिक्री गर्ने भएकाले उक्त बजार उत्कृष्ट हुन सफल भएको बताए । पहिलो पटक अनुगमन गर्दा धेरै पसलमा सबै प्रायजस्तो सबै खालका सामानहरु राखेर बिक्री गरिएको पाइए पनि अहिले अनुगमनको क्रममा त्यसमा सुधार आएर ७५ प्रतिशत पसलका धनीहरुले मासु पसल छुट्टै गरेको पाइएको पनि उनले जानकार िदिए ।
अनुगमनको क्रममा टोलीले मासु व्यवसायीलाई अखाद्य रंग प्रयोग नगर्न, मासु पसलभित्र कुनै पनि प्रकारको विषादी प्रयोग नगर्न, तोकिएको र इजाजत प्राप्त मासु मात्र बिक्री गर्न, मासु पसलमा सरसफाई गर्ने बिक्रीकर्ताले एप्रोन प्रयोग गर्ने, फरक–फरक मासुको लागि फरक डि.फ्रि प्रयोग गर्न, पसलभित्र रोगी र बच्चालाई प्रवेशमा रोक लगाउन जस्ता विभिन्न सुझावहरु पनि दिएको छ । साथै पोखरामा पहिलेको अवस्थामा भन्दा अहिलेको अवस्थामा धेरै परिवर्तन भएको पाइएको पनि प्रतिवेदनमा उल्लेख छ ।    

Post a Comment

 
Top