0

बिष्णुहरि पौडेल
पोखरा २१ असार ।
तनहुँ जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल ढोरबाराही मन्दिरमा धार्मिक पर्यटकको चाप बढेको छ । शनिबार मात्रै एक हजार बढी धार्मिक पर्यटकहरुले ढोरबाराही मन्दिरमा तीर्थयात्रा गरेका छन् । तनहुँ जिल्लाको तत्कालीन ढोरफिर्दी गाविस वडा नं. ७ बाजस्थल तथा हालको शुक्ला गण्डकी नगरपालिका वडा नं. १६ मा पर्ने यो मन्दिरले ऐतिहासिक महत्व बोकेकोले दर्शनार्थी पर्यटकको चाप बढेको हो । पोखराबाट पृथ्वीराजमार्गको दुलेगौडादेखि करिव पाँच कि.मी कच्ची बाटो दक्षिण पश्चिमतिर बढेपछि यस ठाउँमा पुग्न सकिन्छ । दुलेगौडादेखि जीपको सुबिधा उपयोग गर्ने सकिने मन्दिर व्यवस्थापन समितिका सदस्य बाबुराम पुलामी बताउँछन ।
ढोरबाराही मन्दिरलाई धार्मिक पर्यटनको उत्कृट नमूनाको रुपमा विकास गरिन लागेको उनी बताउँछन् । मन्दिरमा लामो समयसम्म पुजारीको जिम्मेवारी वहन गदँै आएका पुजारी चिरञ्जीवि लम्सालले आफ्नो मनोकामना पूरा गर्ने विभिन्न भाकल सहित दर्शनार्थीहरुको ओइरो लाग्ने गरेको बताए । मन्दिरको पूर्वी भागमा रहेको तलाउमा देखिने माछाहरुको आकर्षण अझै महत्वपूर्ण मानिन्छ । त्यसमा पनि रजबाम देखिनुलाई सौभाग्यको सूचक मानिन्छ । शनिवार भारतको आसाम गुहाटीबाट आएका पर्यटक इन्द्र प्रसाद पौडेलले पानीको लहरी चल्ने कुरा र घना जङ्गल भएर पनि बोटविरुवाका पात खसेर फोहर नहुने कुराले आफूलाई अचम्ममा पारेको बताए । मन्दिरमा तनहूँ कास्की लगाएतका छिमेकी जिल्लाबाट मात्रै नभई देश विदेशबाट समेत दर्शनार्थी पर्यटकहरु आउने गरेको पूजारी लम्साल बताउँछन् ।

Post a Comment

 
Top