0

आज साउने सक्रान्ति, मुलुकभर मनाइँदैछ । साउने संक्रान्तिलाई हिन्दू धर्मावलम्बीहरुले पर्वका रुपमा मनाउने गर्छन् । मुलुकका केही स्थानमा रोपाईं सकिएको रुपमा पनि यो पर्व मनाउने गरिन्छ । असार महिनाभर हिलोमा पसेर खोतीपाती गर्नुपर्दा शरीर चिलाउने खटिरा, लुतोआदि आउन सक्ने भएकोले जीउलाई सफा सुग्घर गरी यस दिन लुतो फाल्ने गरिन्छ । गाउँघरमा यस दिन साँझ अँगेनामा कुरिलो र तितेपाती सल्काएर अगेनाबाट एउटा अगुल्टो झिकेर चारै दिशामा घुमाउँदै ‘लुतो लैजाऊ’ भनी अगुल्टो फ्याँक्ने गरिन्छ । त्यसरी लुतो फालिसकेपछि जीउमा घाउ खटिरा आएको छ भने कुकुरडाइनो जलाई त्यसको मलम बनाएर लगाउने चलन छ । सहर बजारतिर भने छोरीबेटीहरुलाई बोलाएर मिठा परिकारहरु बनाएर खुवाउने प्रचलन छ । यस दिनदेखि सूर्यको गति दक्षिणतिर हुने भएकोले यसलाई कर्कट सक्रान्ति पनि भनिन्छ । साउन महिनालाई पवित्र महिना पनि मानिन्छ । साउन महिनाभर पार्वतीले व्रत बसी महादेव पति पाएको धार्मिक किम्बदन्ती छ । यसैले यस महिनाभरि खास गरी विवाहित महिलाहरुले आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु र सुख समृद्धिको कामना गर्दै महादेवको ब्रत, उपासना, पूजा आराधना गर्ने गर्दछन् । साउनका सबै सोमबार महिलाहरुले महादेवको पूजा गर्दछन् । काठमाडौंको पशुपतिनाथमा साउन महिनाभर श्रद्धालु महिलाहरुको विशेष घुइँचो लाग्दछ । साउनमा महिलाहरु हरियो पोते, हरियो चुरा र रातो लुगामा सजिएका हुन्छन् । यसै बीच, गुल्मीको रेसुङ्गामा साउनभर एक महिनासम्म लाग्ने मेला आजबाट सुरु भएको छ । बिगतक वर्षमा जस्तै यस वर्ष पनि मन्दीर ब्यवस्थापन समितिले एक महिनासम्म धार्मिक प्रवचनसँगै रुद्री, चन्डी  शिवजीको दैनिक पूजासहितको मेलाको आयोजना गरेको हो ।

Post a Comment

 
Top