0
 आफूलाई अलौकिक शक्ति प्राप्त भएको बताउने धनकुटाकी सविता सरु शर्मा आचार्य यतिबेला अरुको भविष्यवाणी गर्न पोखरा आएकी छन् । सात महिनामा आमाको कोखबाट जन्मिएको र सात वर्षकै उमेरमा राति सुतिरहेको बेला भगवान शिव र सरस्वतीबाट अलौकिक शक्ति प्राप्त भएको बताउने सरुले ११ वर्षको उमेरदेखि अरुको भविष्यवाणी गर्न थालेकी हुन् । अहिले आफू २५ वर्ष पुगेको र साढे १० लाखभन्दा बढीको भविष्यवाणी गरेको उनको दावी छ । सरुले आवाज सुनेर, फोटो हेरेर तथा हस्तरेखाको माध्यमबाट अरुको भविष्यवाणी गर्ने गरेकी छन् । अहिलेसम्म नेपालका ३७ वटा जिल्लामा आफू पुगिसकेको तर टेलिफोनमार्फत हेराउने क्रममा भने नेपालका सबैजसो जिल्ला र ९९ वटा देशमा रहेका नेपालीसंग सम्पर्क भएको दावी गर्ने सरुले शिक्षा संकायमा स्नातकको अध्ययन समेत पूरा गरेकी छैनन् । धनकुटामा मध्यमवर्गीय परिवारमा हुर्किएकी उनले अलौकिक शक्ति प्राप्त भएको भन्दै गलत काम गर्ने र पैसा कमाउने धन्दामा आफू नलागेको बताउँछिन् । गोल्डेन न्यूज दैनिक एवं सुनौलो एफएमको कार्यालयमा आइपुगेकी उनले घर तथा कार्यालयको वास्तु समेत हेर्ने गरेकी छन् । उनी हाल पोखराको सृजनाचोकस्थित विष्णु भण्डारीको घरमा बसेर सेवा दिइरहेकी छन् ।

Post a Comment

 
Top