0
नेकपा (एमाले)को जारी महाधिवेशनमा नेता माधवकुमार नेपाल र केपी शर्मा ओलीबीच नेतृत्वबारे गुट उपगुट तीव्र देखिएको छ । दुवै पक्षका नेताहरुले दुवै नेता सर्वसम्मत रुपमा पार्टी अध्यक्ष बन्ने दाबी गर्दै आएका छन् । पार्टीको महाधिवेशनलाई व्यक्ति, विचार र नेतृत्व निर्माणमा जोड दिइए पनि त्यो भन्दा बढी नेतृत्वलाई लिएर एकले अर्काको खैरो खन्ने काम बढी भइरहेको छ । एमालेमा नेतृत्व हस्तान्तरण र जननेता मदन भण्डारीको बहुदलीय जनवादलाई जनतामा खरोसँग उतार्ने पार्टीभित्र वैचारिक बहस चलिरहँदा युवा पङ्क्तिका नेताहरुमा भने विचार र नेतृत्वमा बेइमेल देखिन्छ । एमालेका युवा नेताहरुले पार्टीको नवौँ महाधिवेशनबाट पार्टीलाई आन्तरिक लोकतान्त्रिक सुदृढीकरण गर्दैैैैैैै एकताबद्धका साथ पार्टीलाई नयाँ उचाइमा लैजाने विश्वास लिएका छन् । रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा युवा नेताहरुले पार्टीलाई कुनै व्यक्तिको इच्छाअनुसार अंशबन्डाको रुपमा नभई विचार र दृष्टिकोण दिनसक्ने नेतृत्व चाहिने खाँचो औँल्याए । तथापि अधिकांश नेताहरुले पार्टीमा एउटै व्यक्ति लामो समयसम्म रहिरहने विभिन्न लाभका पद लिइसकेको हुनाले नेतृत्व हस्तान्तरण हुनुपर्नेमा जोड दिए । एमालेका युवा नेता खिमलाल भट्टराईले पार्टीको नवौँ महाधिवशेनमा केवल नीति र विचारको मात्र बहस नभई सङ्गठन सुदृढीकरणमा गम्भीरतापूर्वक बहस चलिरहेकाले जसरी नीति र नेतृत्वलाई समयसापेक्ष बनाउने हो, त्यसैगरी नेतृत्व पनि समयसापेक्ष हुनुपर्ने धारणा राखे ।
परम्परागत ढङ्गले अब एमाले पार्टी चल्न नसक्ने भन्दै उहाँले जसको नीति उसकै नेतृत्वअनुरुप पार्टीलाई नीति र वैचारिक ढङ्गबाट अघि बढाउन नेता ओलीको महत्वपूर्ण भूमिका रहेकाले उनी नै अध्यक्ष हुने दाबी गरे । नेता विनोद ढकाल र कैलाश ढुङ्गेलले आन्दोलनको नेतृत्व गर्ने पार्टीको वरिष्ठ नेता ओली भएकाले उनी नै अबको अध्यक्ष हुने र वरिष्ठ नेता नेपाल अभिभावकको भूमिकामा रहनु नै उचित हुने तर्क गरे । नेता पर्शुराममेघी गुरुङ महाधिवेशनबाट यो व्यक्ति र त्यो व्यक्तिले जित्नेभन्दा पनि नेतृत्व र विचारलाई स्थापित गर्दै कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइ दिने नीति र वैचारिक हिसाबले नेता नेपालको नेतृत्व सक्षम भएकाले उनी नै अबको अध्यक्ष बन्ने ठोकुवा गरे । त्यसैगरी युवा नेता गोकुल बास्ँकोटा र शेरधन राईले नेतृत्व हस्तान्तरण एमालेमा मात्र नभई अन्य पार्टीका लागि पनि आवश्यक भएकाले नेता नेपाल अभिभावक बनेर विचार र दृष्टिकोण दिनसक्ने नेता र नेतृत्वका लागि नेता ओली नै उपयुक्त हुने बताए ।
 नेता जीवन घिमिरेले पार्टीलाई भागबन्डा गर्नेभन्दा पनि आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन पनि नवौँ महाविधेशनले पार्टीलाई एकताबद्धका साथ नयाँ उचाइमा लैजाने बताए । नेता ठाकुर गैरे र नेत्री रामकुमारी झाँक्रीले पार्टीलाई गतिशील, विचारशील र बहुआयामिक नेतृत्व दिने वरिष्ठ नेता माधवकुमार नेपाल नै भएकाले उनी सर्वसम्मतरुपमा अध्यक्ष बन्ने विश्वास व्यक्त गरे । अर्की नेत्री जुली महतोले एउटै नेताले धेरैपटक नेतृत्व लिइसकेकाले नेता नेपाल अभिभावक बनेर ओलीलाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।
यसैबीच नेकपा (एमाले) को नवौंँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै नेता कार्यकर्तामा अवसरवाद, दलाली र चाकडी प्रवृत्ति हुर्किएको बताएका छन् । सत्ता प्राप्तिका लागि जे पनि गर्र्ने प्रवृत्ति पार्टीमा देखिएको बताउँदै उहाँले पाटीभित्र त्याग, तपस्याको भावना तथा जनताप्रतिको सेवाभावलाई कायम राख्न आग्रह गरे । साथै प्रतिवेदनमा आयोगका सिफारिस कार्यान्वयनमा आलटाल हुने गरेकामा पनि चिन्ता व्यक्त गरे ।

Post a Comment

 
Top