पोखरा ५ साउन ।
पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन आउन अझै करिब २ महिना बाँकी छ । संघले महाधिवेशनको मिति अझै नतोकेको भएपनि दुईमहिनाभित्र हुने महाधिवेशनको तयारीका लागि उद्योगी व्यवसायीको दौडाह शुरु भैसकेको छ । कतिपय व्यवसायीले नेतृत्वमा पुग्नका लागि आन्तरिक रणनीति तयार गरिरहेका छन् भने कतिपय व्यवसायी संघका सदस्यहरु संघको प्रत्यक्ष भेटघाटमा व्यस्त बनेका छन् ।
अघिल्लो कार्यकालमा तत्कालिन महासचिव संजीवबहादुर कोइराला र तत्कालिन प्रथम उपाध्यक्ष विन्दुकुमार थापाका बीचमा लामो प्रयासपछि सहमतिको आधारमा नेतृत्व तय गरिएको कारण यसपटक पनि अन्तिममा सहमति हुने विश्वासमा अधिकांश पोखरेली व्यवसायीहरु रहेका छन् । तर कोइराला र थापा दुवैले आफू अध्यक्ष उम्मेदवार बन्नका लागि लविङ गरिरहेकोले यसपटक सहमतिको सम्भावना नरहेको अनुमान समेत कतिपयले गरेका छन् । संघका अध्यक्ष कोइरालाले आफूले आफ्नो कार्यकालमा प्रथम उपाध्यक्ष थापाबाट अपेक्षाकृत सहयोग पाउन नसकेको कारण सहमतिको सम्भावना कम रहेको गोल्डेन न्यूज दैनिकलाई बताए । थापाले भने अघिल्लो पटक संघका पूर्व अध्यक्ष एवं अग्रजहरुको रोहवरमा गरिएको सहमतिलाई कार्यान्वयनमा ल्याउन पूर्व अध्यक्ष एवं अग्रज व्यवसायी हरुले समेत चासो राखेकाले सहमति हुने विश्वास व्यक्त गरे । गोल्डेन न्यूज दैनिकसंग कुरा गर्दै उनले भने–‘अघिल्लो पटक म पछि हटेर कोइरालालजीलाई सर्वसम्मत रुपमा अध्यक्ष बनाइएको थियो । यसपटक कोइरालाजी लगायत संघका पूर्व अध्यक्ष र अग्रज व्यवसायीले अघिल्लो सहमतिलाई कार्यान्वयन गराउन पहल गर्नुहुनेछ भन्ने विश्वासमा छु ।’ संघका अध्यक्ष कोइरालाले भने अघिल्लो दुई वर्षसम्म थापासंग खासै सहमति हुन नसकेका कारण अब सहमति होला जस्तो नलागेको बताए । कोइरालाले आफूले थापाबाट अपेक्षाअनुसारको सहयोग पाउन नसकेको गुनासो समेत गरे । कतर थापाले भने आफू सदैव संघको गतिविधिमा सक्रियतापूर्वक लागिरहेको कारण सहयोग नगरेको भन्न नमिल्ले प्रतिक्रिया दिए । हाल काठमाडौंमा पोउवासंघकै कार्यक्रमका लागि पुगेको भन्दै थापाले संघका हरेक गतिविधिमा आफू सदैव सक्रिय रहेको स्पष्ट पारे । व्यापार मेला सम्पन्न गर्न अन्य साथीहरुसंगै मिलेर मैले राम्रो आर्थिक स्रोत जुटाएको थिएँ, यसबाहेक अन्य काममा पनि मेरो सक्रियता जारी छ । यस्तो अवस्थामा मैले कसरी असहयोग गरेको भयो र ? थापाले प्रश्न गरे ।
यता, कोइरालाले आफू दोस्रो कार्यकालका लागि अध्यक्षको उम्मेदवार बन्ने जानकारी दिंदै चुनावका लागि खासै तयारी भने शुरु नगरेको स्पष्ट पारे । महाधिवेशनको मिति नतोकिएकोले चुनावी तयारीमा खासै लागेको छैन भन्दै कोइरालाले आशन्न महाधिवेशनका लागि आफ्नो टीमलाई पूर्णता दिन समेत बाँकी रहेको स्पष्ट पारे । कोइरालाको उक्त भनाई संगै पोउवासंघमा सहमति सम्भावना कम भएको कतिपयको भनाई छ । थापाले भने महाधिवेशनको मिति छिट्टै तोकिने जानकारी दिंदै आफू अध्यक्षको तयारीमा लागेको बताए । ‘मैले संघका पूर्व अध्यक्षहरु, अग्रज व्यवसायीहरु, वस्तुगत संघका साथीहरु र संघको कार्यसमितिका साथीहरुसंग आफ्नो कुरा राखिसकेको छु र सबैले सहयोग गर्ने आश्वासन दिनुभएको छ ।’–थापाले भने । उनले चुनावमा जानका लागि आफ्नो समूह समेत बनिसकेको तर अन्तिमरुप दिन भने बाँकी रहेको बताए ।
अघिल्लो निर्वाचनमा कोइरालाको समूहमा रहेका कार्यसमिति का कोषाध्यक्ष रविन्सन प्रजु र सदस्य पवन प्रजापति यसपटक कोइराला समूहबाट अलगिएका छन् । उनीहरुलाई थापा ले आफ्नो समूहमा ल्याएको बताइन्छ । थापाको समूहका आएपछि प्रजुले समेत पदाधिकारीमा महत्वपूर्ण जिम्मेवारी पाउने सम्भावना छ । कोइराला समूहबाट प्रजूको वहिर्गमनसंगै युवा व्यवसायी विष्णुबहादुर थापा र मनोज श्रेष्ठ लगायतका अन्य व्यवसायी पनि प्रजु संगै थापा समूहमा लागेका छन् । यसैगरी नेउवा महासंघका पूर्व उपाध्यक्ष आजाद श्रेष्ठका भाइ अनिल श्रेष्ठ पनि यसपटक थापाको पक्षमा देखिएका छन् । अनिलले गोल्डेन न्यूज दैनिकलाई दिएको जानकारी अनुसार यसपटक अध्यक्ष पदमा सहमति कायम हुन नसकेमा श्रेष्ठ परिवार समेत विभाजित बन्ने अवस्था छ । पोखराका प्रतिष्ठित उद्योग समूह लक्ष्मी हाउस र कर्माचार्य हाउस जस्ता व्यवसायिक प्रतिष्ठानका संचालकहरु पनि यसपटक मौन जस्तै देखिएका छन् । यी दुवै प्रतिष्ठानका संचालकहरुले आफू भित्रैको खास उम्मेदवार नभएको र महासंघको चुनावका लागि पनि आफूलाई ठूलो सहयोग नचाहिने भएका कारण त्यति चासो नदिएको बताइन्छ । जसका कारण दुई ठूला औद्योगिक घराना लक्ष्मी हाउस र कर्माचार्य हाउस समेत एकै ठाउँमा जाने सम्भावनालाई पनि नकार्न सकिन्न । यसपटक पोखरा उद्योग वाणिज्य संघको चुनावमा करिब दुई हजार तीनसय मतदाता व्यवसायीले आफ्नो नेतृत्व चयन गर्र्दैछन् ।
कोइराला र थापा समूहका सम्भावित टिम
पोउवार्संघको आशन्न महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेमा समानान्तर रुपमा दुई समूह चुनावमा जाने देखिएको छ । जस अनुसार वर्तमान अध्यक्ष संजिवबहादुर कोइरालाले आफ्नो टिमको दुई उपाध्यक्षमा ईश्वर कर्माचार्य र नारायण कोइराला, महासचिवमा दामु अधिकारी, कोषाध्यक्षमा दीलिप सुवेदी र उपमहासचिवमा हीरा भट्टराईलाई राख्ने तयारी गरेको बताइन्छ । हुन त कोइरालाले यसबारेमा केही बताउन चाहेनन् । उनको समूहका वर्तमान कोषाध्यक्ष रविन्सन प्रजू बाहिरिएर थापा समूहमा लागेपनि पदाधिकारी चयनमा कोइरालालाई सहज हुने देखिन्छ ।
यसैगरी वर्तमान प्रथम उपाध्यक्ष विन्दुकुमार थापाले आफ्नो समूहबाट पदाधिकारी बनाउनेहरुको टुङ्गो अझै लगाएका छैनन् । तर थापा समूहबाट प्रथम उपाध्यक्षमा देव क्षेत्रीकोमात्रै चर्चा छ । द्वितीय उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र उपमहासचिवका लागि थापाले आफ्नो समूहमा सक्रिय रहेका रविन्सन प्रजू, मिनराज काफ्ले, विन्दु कोइराला सुवेदी, प्रकाशदेव पालिखमध्येबाट छनौट गर्ने अनुमान गरिएको छ । थापाले पनि पदाधिकारी क–कसलाई बनाउने भन्ने बारेमा केही बताएनन् । यता थापा र कोइराला दुवैले संघका सदस्य विश्वशंकर पालिखे र दीलिपराज श्रेष्ठ लगायतका अन्य सदस्यलाई आफ्नो पक्षमा पार्न पहल गरिरहेको बताइन्छ । पालिखेले अर्को कार्यकालमा आफू अध्यक्ष उम्मेदवार बन्ने भनाई सार्वजनिक गरेकोले कोइराला र थापा समूहका केही व्यवसायीले भने उनलाई भित्र्याउन समेत सहजै स्वीकारेका छैनन । यस्तो अवस्थामा पालिखेले आफ्नो भविष्यका बारेमा सोचेर कुनै एक समूहमा आवद्ध हुने मनशाय राखेको बताइन्छ ।
थापाले सहमतिको आधारमा नेतृत्व चयन गर्ने भन्दै कोइराला समूहका ईश्वर र नारायणसंग पनि सहयोगका लागि र एउटै समूह बनाउन पहल गर्नका लागि आग्रह गरेको भएपनि त्यसले सफलता नपाएपछि थापा समूह आफ्नो आन्तरिक तयारीमा लागेको हो । थापाले विश्वशंकर पालिखेले आफ्नो समूहलाई सहयोग गर्ने विश्वास व्यक्त गर्दै समूहका साथीहरुसंग सल्लाह गरी उपयुक्त जिम्मेवारी बाँडफाड गरिने बताए ।
Post a Comment