0
सिद्धार्थ टोल विकास संस्था पोखरा–४ ले आयोजना गरेको उद्घोषण तथा प्रभावकारी भाषणकला तालिम शनिबार सम्पन्न भयो । दुई दिनसम्म चलेको तालिममा टोल विकास संस्थाका करिब ४० जनाको सहभागिता रहेको थियो । तालिमको समापनका अवसरमा संस्थाका प्रमुख सल्लाहकार एवं स्थानीय समाजसेवी मदनकाजी श्रेष्ठले तालिमले मानिसको व्यक्तित्व र क्षमता वृद्धि गर्ने भन्दै तालिममा सिकेका कुरालाई जीवनमा उतार्न आग्रह गरे । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष एवं सुनौलो एफएम र गोल्डेन न्यूज दैनिकका अध्यक्ष गंगाधर पराजुलीले दुई दिनको तालिममा सिकेका सैद्धान्तिक विषयलाई व्यवहारिक जीवनमा उतार्न सकेमात्र तालिम फलदायी हुने भन्दै मानिसले आफ्नो जीवन रहँदासम्म पनि ज्ञान र शिप आर्जन गरिरहनुपर्नेमा जोड दिए । संस्थाका अध्यक्ष गोमा कोइराला सुवेदीले महिलाहरुलाई चुला र चौकामामात्र सीमित नगरी सामाजिक जीवनमा नेतृत्वदायी भूमिका निर्वाह गर्न तालिम उपयोगी हुने बताइन । संस्थाका निवर्तमान अध्यक्ष पार्वती माकाजूले आगामी दिनमा पनि संस्थाले महिलाहरुको हितमा रचनात्मक काम गर्ने भन्दै २६ जना महिलाबाट शुरु गरिएको संस्थामा हाल १५० भन्दा बढी महिला आवद्ध भएको बताइन । तालिमका प्रशिक्षक दुर्गा न्यौपानेले पुरुषहरुको तुलानामा महिलाहरुको क्षमता बढी भएपनि महिलाहरुलाई आफ्नो शक्ति प्रयोग गर्न नचाहँदा समाजमा पछि परेको भन्दै चिन्ता व्यक्त गरिन । अर्का प्रशिक्षक सविता ढुङ्गानाले तालिमले महिलाहरुको ज्ञान र शिपमा अभिवृद्धि हुने र महिला सशक्तिकरणमा मद्धत पुग्ने बताइन । संस्थाका सल्लाहकार मुक्ति पराजुलीले महिलाहरुलाई घर बाहिर निस्केर ज्ञान आर्जन गर्न आग्रह गरे भने सल्लाहकार कृष्णप्रसाद पराजुलीले कितावी ज्ञानलेमात्र मानिस पूर्ण हुन नसक्ने बताए । कार्यक्रममा प्रशिक्षार्थी कल्पना गौतम र सल्लाहकार मंगलप्रसाद माकाजूका साथै संस्थाकी सीमा कोइराला लगायतले तालिमको औचत्यको बारेमा चर्चा गरेका थिए । त्यस अवसरमा उत्कृष्ठ प्रशिक्षार्थी र प्रशिक्षकहरुलाई उपहार एवं मायाको चिनो प्रदान गरिएको थियो ।




Post a Comment

 
Top