0
नेकपा एमालेको नवौं केन्द्रीय महाधिवेशनको समय नजिकिंदै जाँदा गुटगत भेला र प्रशिक्षण तीव्र पारिएको छ । यो संगै आगामी नेतृत्वका लागि मैदानमा उत्रिएका दुवै नेताहरू माधवकुमार नेपाल र केपी शर्मा ओलीले एक अर्कोलाई आरोप–प्रत्यारोप गर्नेक्रम पनि निरन्तर छ । यसले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई चिन्तित तुल्याएको छ । पार्टीका दुई शीर्ष नेताहरू आरोप–प्रत्यारोपमा उत्रिएपछि पार्टीको भविष्य के हुने हो भन्दै उनीहरू चिन्नित भएका हुन् । देशभरका केन्द्रीय प्रतिनिधिहरू राजधानी आउनेक्रम शुरु भएपछि यतिबेला राजधानी केन्द्रित गुटगत भेलाले तीव्रता पाउन थालेको बुझिएको छ । यसैक्रममा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र नेता केपी शर्मा ओली समूहले पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिलाई बेग्लाबेग्लै भेला गराई सम्बोधन गर्ने कार्यक्रम तय गरेका छन् । वरिष्ठ नेता नेपालले शनिबार काठमाडौंको बुद्धनगरमा आफ्ना पक्षका प्रतिनिधिलाई आमन्त्रण गरेका थिए भने नेता ओलीले आइतबार (असार १५ गते) मदन भण्डारी मेमोरियल फाउन्डेसनले आयोजना गर्ने ‘नवौँं महाधिवेशन र नेतृत्व हस्तान्तरण’ विषयक विचार गोष्ठीमा प्रतिनिधि तथा कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । महाधिवेशन प्रतिनिधि काठमाडौँ आउने क्रम सुरु भएपछि दुवै पक्षले भेला, भेटघाट र प्रचार कार्यलाई तीव्रता दिएका छन् ।यस्तै नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले नेपाली राजनीति विभिन्न चरणका सङ्घर्षलाई पार गर्दै सामाजिक आर्थिक क्रान्ति हुँदै समाजवादतर्फ उन्मुख भएको बताएका छ । नेकपा (एमाले) लुम्बिनी अञ्चल सम्पर्क कमिटीको आयोजनामा प्रगतिशील विचार समूह, रुपन्देहीले प्रकाशन गरेको ‘नेकपा(एमाले)का समकालीन विचार दृष्टिकोणहरु’ विषयक पुस्तकको शनिबार विमोचन गर्दै उनले २०६२÷६३ को नेपाली जनक्रान्तिले सामन्तवादलाई पूर्ण रुपमा अन्त्य गराएको उल्लेख गरे। समकालीन विचारका रुपमा विभिन्न महत्वपूर्ण लेखहरु समेटेर लेखिएको पुस्तक २०६२÷६३ यताको नेपाली राजनीतिक यात्रा र बहसलाई बुझ्न उपयोगी हुने विश्वास उनले व्यक्त गरे । उनले नेकपा (एमाले)को आसन्न नवौँ महाधिवेशनको तयारी तीव्र रुपमा भइरहेको जानकारी गराउँदै महाधिवेशनमा विश्वका विभिन्न १५० देशबाट प्रतिनिधि आउने बताए । ती प्रतिनिधिमध्ये अधिकांश वरिष्ठ नेता नेपाल पक्षका रहेको बुझिएको छ । आगामी महाधिवेशनलाई एकताका महाधिवेशनका रुपमा सम्पन्न गर्नुपर्नेमा उनको जोड थियो । यता नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको नवौंँ राष्ट्रिय महाधिवेशन बाट पार्टी र मुलुक  सबैलाई हाँक्न सक्ने नेतृत्व चयन हुनुपर्ने बताएका छन् । एमालेको राष्ट्रिय महाविधेवशन का अवसरमा शनिबार आयोजना गरिएको महाधिवेशन प्रतिनिधि भेटघाट कार्यक्रममा उनले महाधिवेशनबाट सिङ्गो पार्टी तथा वरिष्ठ नेता र युवालाई मिलाएर लैजानुपर्ने र सक्षम नेतृत्व चयन हुनुपर्नेमा जोड दिए ।  वरिष्ठ नेता नेपालले कार्यकर्तालाई भने, “महाधिवेशनका अवसरमा विभिन्न खालको आश्वासन दिनेप्रति तथा पैसा र सत्ताको दुरुपयोग गर्नेहरुको क्रियाकलापबाट जोगिनुहोस्, पार्टीको नीति र सिद्धान्तलाई बुझ्ने, इमान्दार, कर्तव्यनिष्ठ, जनताको आशा र भरोसाको नेतृत्व चयन गर्नका लागि विवेक प्रयोग गर्नुहोस् ।” उनले आफू  नवौंँ महाधिवेशन बाट एक कार्यकालका लागि अध्यक्ष बन्ने चाहेको बताउँदै त्यसपछि आगामी दशौं महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गरिने स्पष्ट गरे । यता नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले नवौँ महाधिवेशनबाट पार्टीमा नयाँ नेतृत्व आउने विश्वास व्यक्त गरेका छन् । नेतृत्व कुनै पनि हालतमा पछाडि नफर्किने बताउँदै उनले पार्टीमा अर्थपूर्ण हिसाबले नेतृत्व हस्तान्तरण हुने ठोकुवा गरे ।  नेता ओलीले एमालेका पोलिटब्युरो सदस्य खगराज अधिकारीद्वारा लिखित आत्मसंस्मरण ‘माया मारेको मान्छे’ को शनिबार विमोचन गर्दै भने–“एमाले यस्ता विसङ्गत मान्यताको पक्षमा लाग्दैन, नेतृत्व हस्तान्तरण भई छाड्छ ।” उनले नेतृत्व हस्तान्तरणको प्रक्रिया पुरानोमा फर्किने नभई नयाँ पुस्तामा जाने स्पष्ट पारे ।
“नेतृत्व पुस्तान्तरणको कुरा गर्ने मानिसले विगतमा आफूले उत्तराधिकारी निर्माण गर्दै अगाडि बढेको भए सायद अहिले युवा पुस्तामा नेतृत्व पुग्थ्यो,”–ओलीले भने–“अहिले तिनै मानिसहरु नयाँलाई बाटो देखाउन होइन, आफैँलाई चाहियो भनेर जुका उर्फिएजस्तो उफ्रिँदै गरेको सुन्दा अचम्म लाग्छ ।” “अर्थपूर्ण हिसाबले नेतृत्व युवामा जाने कुरामा म बाधक बन्दिन तर युवा भनेको के हो, त्यसको परिभाषा त स्पष्ट हुनुप¥यो ”–ओलीको भनाइ थियो । उनले तिलचाम्रे, दाँत फुक्लिएका र हजुरबा भइसकेकालाई युवाको नेतृत्व दिने कुरा हास्यास्पद हुने बताए । महाधिवेशनलाई विरालो बाँधेर गरिने कर्मकाण्डी जस्तो नबनाउने ओलीको भनाइ थियो । “महाधिवेशनलाई विचारको रक्षा र राष्टूव्यापी जनताको पक्षमा उभ्याउने पार्टी बनाउछौँ”–ओलीले भने । उनले नवौँ महाधिवेशन हारजितको कुरा नभएको भन्दै पार्टीभित्रको सच्चाई र अग्रगामी सोच निर्माण गर्ने कुरा रहेको बताए ।

Post a Comment

 
Top