0
भारतका नवानिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदी साउनको दोस्रो हप्ता धार्मिक यात्राको बहानामा नेपाल भ्रमणमा आउने चर्चा शुरु भएको छ । यो संगै हिन्दूधर्ममा आस्थावान नागरिकले उनीमाथि ठूलै अपेक्षा समेत गरेका छन् । यो चर्चासँगै मोदीले नेपालका लागि ८०० भेगाबाट बिजुली उत्पादनको योजना पनि लिएर आउने कुरा सार्वजनिक भएको छ । त्यससँगै मोदीले नेपाल प्रहरीका लागि एउटा निर्देशनालय निर्माण गरिदिने कुरा पनि चर्चामा आएको छ । भारतको सत्तारुढ दल कंग्रेस आईलाई चुनावमा पराजित गरि र आफ्नो प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा छिमेकी मुलुकका राष्ट्रप्रमुखलाई निमन्त्रणा गरेर निकै कुटनीतिक चर्चा कमाएका उनीले आफ्नो पटक–पटकको भाषणमा नेपालको विशेष चर्चा गर्दै आएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल आवागमनलाई नेपालको हितमा कसरी उपयोग गर्ने भन्ने सवालमा नेपालका राजनीतिक दलका नेताहरूले बृहत् छलफल गर्नु जरुरी छ । यसका साथै नेपालको दोस्रो संविधानसभा चुनावलाई बहिष्कार गरेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले पटक–पटक भन्दै आएको गोलमेच सम्मेलन नै गरेर भारतसँग नेपालको हितका निम्ति के–कस्ता विषयहरू राख्न सकिन्छ भन्ने सम्बन्धमा नीति तर्जुमा गरिनु समयसापेक्ष देखिन्छ । भारतका नवानिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना छिमेकी मुलुकहरूसँग सम्बन्ध सुमधुर बनाउन प्रतिबद्ध छन् भन्ने कुरा उनले आफ्नो सपथग्रहण समारोहका दौरानमा गरेको निमन्त्रणाबाटै पनि बुझ्न सकिन्छ । सम्बन्ध सुमधुर बनाउनका लागि नेपालको हित हुने सवालमा भारतको सहभागिता जरुरी हुन्छ । भारत विरोधी नाराबाजी नेपालमा किन हुन्छ ? यो गम्भीर विषय हो । खुला सीमाना भएका कारण पनि नेपाल र भारतबीच कटूता रहनु राम्रो हुँदैन । नेपाल–भारत सीमामा नेपालीले पटक–पटक भोग्दै आएको समस्याका बारेमा पनि छलफल गरी प्रम मोदीको प्रतिवद्धता आउन सके नेपाली जनता र नेपालको हितमा महत्वपूर्ण उपलव्धि हुन सक्छ । नेपाल सधैंका लागि भारतविरोधी गतिविधि हुनै नपाउने गरी नेपालका राजनीतिक दलहरूबीच गम्भीर छलफल गर्ने र भारतसंग सर्वदलीय साझा प्रस्तावका रूपमा दुई देशबीच सुमधुर सम्बन्ध कायम गराउने तर्पm पहल हुनु जरुरी छ । समय छोटो छ, एजेण्डा गहन छ । गोलमेचसभाको आवश्यकता झनै बढेको छ । संयुक्त सरकारले नै गोलमेचसभा बोलाएर भारतसंँग नेपालको हितका विषयमा गम्भीर छलफल र बहस चलाएर नेपाल–भारतको सीमा विवादलाई वैज्ञानिक तवरले सधैंका लागि अन्त्य गर्न नेपाल सरकार र राजनीतिक दलहरूले पहल गर्नु आजको अपरिहार्य आवश्यकता हो । यदि अझै पनि सरकार र राजनीतिक दलहरुले कानमा तेल हालेझैं गरी बस्ने र सीमाका नेपाली जनताले सधैंभरि सास्ती, पीडा र दुःख भोगिरहने हो भने नेपालमा भारतका प्रधानमन्त्री र भारतमा नेपालका प्रधानमन्त्री एवं नेताहरूले भ्रमण गर्नुको कुनै औचित्य रहँदैन । यस विषयमा नेपाल सरकार एवं राजनीतिक दल र राजनेताहरूले बेलैमा सोच्न जरुरी छ ।

Post a Comment

 
Top