0


गोल्डेन न्यूज संवाददाता
पोखरा २७ जेठ ।
नेपाल भारत १९५० को असमान सन्धीलाई परिमार्जन गर्न नेपाल भारत मैत्री संघले कुटनीतिक तवरबाट पहल गर्ने पोखरामा मंगलबार आयोजित कार्यक्रममा सुझाव दिइएको छ ।
नेपाल भारत मैत्रीसंघ कास्कीको आयोजनामा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष ओमप्रकाश सरावगीले नेपाल र भारतका जनताको जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यबाट गठित संघले दुबै देशबीच हुने राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक महत्वका विषयलाई प्रभाव पार्ने सन्धीको पुनरावलोकन गर्नुपर्ने संघले कुटनीतिक पहल गर्ने बताए । सन्धी परिमार्जनका ठोस प्रावधानहरु बाहिर नआए पनि दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन मैत्रीसंघले सेतुको काम गर्ने बताए । कार्यक्रममा संघका उपाध्यक्ष बासुदेव रिमाल, केन्द्रीय सदस्य हरेराम पौडेललगायतले संघको गतिविधि बारेमा चर्चा गरेका थिए । कास्की जिल्ला अध्यक्ष ऋषि सापकोटाले नेपाल आउने भारतीय पर्यटकदेखि लिएर अन्य भारतीय नागरीकका लागि पोखरामा चार स्थानमा हेल्प डेस्क स्थापना भैसकेको जानकारी दिए ।
कार्यक्रममा भारतमा नेपाली महिलाहरुको बेचबिखन यौनजन्य हिंसादेखि लिएर सीमा क्षेत्रमा लुटिनुपरेका अवस्थाका बारेमा विशेष पहल गर्नुमा संघका उपाध्यक्ष जगन गुरुङले बताए । त्यसैगरी नेपालमा धार्मिक एवं साँस्कृतिक पर्यटक भित्राउने र शिक्षा,स्वास्थ्य, भौतिक पूर्वाधारका लागि भारत सरकारबाट हुने सहयोगको सही ठाउँमा सदुपयोग गर्न संघले आवश्यक पहल गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका थिए । यसैबीच, पोखरामा मैत्रीसंघका दुबै संस्था रहेको विषयमा सोधिएको प्रश्नमा केन्द्रीय अध्यक्ष सरावगीले संघको शाखा एकमात्र रहेको र मैत्रीसंघमा हरेक पक्षलाई आवद्ध गर्न सकिने बताए । मैत्रीसंघमा देशका विभिन्न जिल्ला र स्थानमा गरी ७२ शाखा छन् ।
वि.सं. २०११ सालमा माधव घिमिरेको अध्यक्षमा गठित संस्था नेपालको लागि दोश्रो संस्था भएको संघका जिल्ला सचिव वीरबहादुर कार्कीले बताए ।

Post a Comment

 
Top