गोल्डेन न्यूज संवाददाता
पोखरा २७ जेठ ।
भलिबलका राष्ट्रिय खेलाडीद्वय सरस्वती चौधरी र अरुणा शाहीलाई कास्की जिल्ला भलिबल सङ्घले मंगलबार पोखरामा सम्मान ग¥यो नेपाल खेलकुद पत्रकार मञ्चद्वारा आयोजित पल्सर वर्ष खेलाडी घोषित सरस्वती चौधरी र कास्की जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित कास्की वर्ष खेलाडी घोषित अरुणा शाहीलाई सङ्घले पोखरा रङ्गशालामा दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरेको हो ।
खेलाडीद्वय चौधरी र शाहीलाई प्रमुख अतिथि नेपाल भलिबल सङ्घका केन्द्रीय अध्यक्ष दानबहादुर तामाङ, सचिव रामनाथ भण्डारी, भलिबल सङ्घ कास्कीका सल्लाहकारद्वय गणेशबहादुर भट्टराई र चिनु रानाभाट तथा सशस्त्रप्रहरी बल कालिका गण मालेपाटनका गणपति दमन थापा, सङ्घका अध्यक्ष भीम पराजुलीलगायतले सम्मान गरेका थिए । सो अवसरमा प्रमुख अतिथि नेपाल भलिबल सङ्घका केन्द्रीय अध्यक्ष दानबहादुर तामाङले यो वर्षको प्रारम्भमै भलिबल सङ्घको लागि खुसी प्राप्त भएको बताए । उनले भलिबलका राष्ट्रिय खेलाडीद्वय सरस्वती चौधरी पल्सर वर्ष खेलाडी र अरुणा शाही कास्की वर्ष खेलाडीबाट सम्मान हुनु नै सङ्घको लागि गौरवको कुरा भएको बताए ।
कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय भलिबल सङ्घका उपाध्यक्ष शुभकन्या गुरुङले पनि खेलाडीद्वयले भलिबलको गौरव बढाउने काम गरेको भन्दै बधाई दिएकी थिइन् । सङ्घका अध्यक्ष भीम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष खगेन्द्र गौचनले स्वागत तथा सचिव कुमार गुरुङले सञ्चालन गरेका थिए ।
Post a Comment