पोखरा–बाग्लुङ राजमार्ग अन्तर्गत जिरो किमिदेखि बिन्ध्यवासिनी सम्मको सडकखण्ड व्यवस्थित र फराकिलो बन्ने भएको छ । करिब ३ किलोमिटर सडकलाई पोखरा क्षेत्रमा रहेका अन्य सडकहरु भन्दा व्यवस्थित र फराकिलो पार्ने कामको शुरुवात बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले गरेका हुन् ।
उक्त सडक खण्ड दू्रत सवारी साधनका लागि चार लेन दुई सर्भिस लेन गरी ६ लेनको बन्ने भएको हो । पोखराको नमूना सडकको रुपमा लिइएको उक्त सडक खण्डको निर्माणमा १४ करोड खर्च हुने र दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सडक डिभिजन कार्यालय पोखराका प्रमुख प्रभातकुमार झाले जानकारी दिए । सडकको बीचमा डिभाइडर सहित वृक्षारोपण गरिने र दायाँ–बाँया पनि सुन्दरता थपिने बताइएको छ । राजमार्गको यो खण्ड अत्यधिक साँघुरोहुँदा दोहोरो सवारी चल्न समेत समस्या पर्दा दिनहँु जासो दुर्घटना हुने गरेको छ ।
सडक निर्माण कार्यको शिलान्यास गर्दै मन्त्री निधिले समयमै संविधान बन्ने विश्वास व्यक्त गरेका छन् । संविधानसभाको बैठकमा कुर्ची खाली हुँदैमा संविधान निर्माणको काम नरोक्किएको उनले बताए । दलहरुको सहमतिमा संविधान जारी गर्नुपर्ने भएकाले संविधान निर्माणका लागि गठित विभिन्न समितिहरुले आ–आफ्नो काम गरी रहेका र दलीय सहमतिलाई जोड दिइएको उनले स्पष्ट पारे । संविधानसभामा सभासद्हरुको उपस्थिति निकै न्यून भएपछि त्यसको आलोचना भइरहेका बेला मन्त्री निधिले मुलुकमा संविधान जारी भई शान्ति स्थापना भएपछि नेपाली जनताले चाहेको भन्दा बढी विकास हुने बताए । कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति एवं संविधानसभा सदस्य यज्ञबहादुर थापा, नेकपा एमाले नेता एवं सभासद रविन्द्र अधिकारी, काँग्रेस नेता शोभियत अधिकारी, मन्त्रालयका सचिव तुलसी सिटौला, क्षेत्रीय निर्देशक मुक्ति गौतम लगायतले सडक निर्माणको बारेमा आ–आफ्ना भनाइ राखेका थिए । सडक बिस्तारका लागि दायाँबायाँ मापदण्ड मिचेका पूर्वाधार यसअघि नै हटाईसकिएको छ भने रहेका रुखबिरुवा समेत काट्ने काम शुरु भएको छ । तीन किलोमिटरको उक्त क्षेत्रभित्र १ सय ३५ वटा रुख रहेको र ती सबै काट्ने तयारी भएको छ । पोखरा–बाग्लुङ राजमार्ग चीन सरकारको सहयोगमा दुई दशक अगाडि निर्माण गरिएको हो । तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले उक्त राजमार्गको उद्घाटन गरेका थिए ।
Post a Comment