पुनरावेदन अदालत बार एशोसिएशन पोखराको नेतृत्व सहमतिय आधारमा हुने भएको छ । आगामी कार्यकालका लागि नयाँ कार्यसमितिको निर्वाचन प्रक्रिया अन्तर्गत सोमवार गरिएको मनोनयन दर्ता प्रक्रियामा उम्मेदवारहरुले सहमतिय आधारमा दर्ता गरेकाले निर्विरोध रुपमा कार्यसमिति बन्ने भएको हो । जसअनुसार अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्षमा नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी समूह र सचिवमा एमाले निकट प्रगतिशील समूहतर्फका कानून व्यवसायीले उम्मेदवारी दर्ता गराएका हुन् । सोमबार ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएकोमा प्रजातान्त्रिक कानून व्यवसायीका तर्फबाट अध्यक्षमा खगेन्द्रराज आचार्य, उपाध्यक्षमा बलराम तिमिल्सिना, र कोषाध्यक्षमा यज्ञराज अधिकारीका साथै सोही समूहको तर्फबाट माधवी पाण्डे, शिवप्रसाद गौतम, राजुराज अधिकारी, मनहरि अधिकारी, डिलमाया भुजेलले सदस्य पदमा उम्मेदवारी दर्ता गराए । पेशागत तथा प्रगतिशील कानुन व्यवसायीका तर्फबाट सचिवमा इन्द्रप्रसाद बराल र सदस्यहरुमा भुवन पराजुली, सुरेन्द्रकुमार श्रेष्ठ, हरिप्रसाद पण्डित र धनबहादुर रानाभाटले उम्मेदवारी दर्ता गराएका छन् । यसपटक एमाओवादी नजिक रहेको गणतान्त्रिक समूहले भने उम्मेदवाी दर्ता गराएनन् ।
विगतका निर्वाचनहरुमा गणतान्त्रिक समूहको समेत उपस्थिति रहने गरेको पूनरावेदन अदालत बारमा यसपाली गणतान्त्रिक समूहले उम्मेदवारी मनोनयन गरेन । सोमबार चार बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएकोमा आवश्यकता अनुसारमात्रै उम्मेदवारी दर्ता भएकाले निर्विरोध रुपमा नयाँ कार्यसमितिको घोषणा हुने निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापाले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।
Post a Comment