गोल्डेन न्यूज संवाददाता
पोखरा २६ जेठ ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र विचारको बहस जरुरी भएको भन्दै विचारको वहस गर्न नसक्नेहरु गालीगलौजमा उत्रिने र अरुलाई एक्कासी झम्टिने प्रवृत्तिका रहेको बताएका छन् । नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनमा अध्यक्षको उम्मेदवार घोषणा गरी आधादर्जन केन्द्रीय नेताहरु सहित चुनावी अभियानमा पोखरा आएका नेता नेपालले आफ्ना प्रतिस्पर्धी केपी ओली र बामदेव गौतमप्रति लक्षित गर्दै उनीहरु विचारको बहसमा उत्रिन नसक्ने दावी गरे । आफ्नो लामो सम्बोधनका क्रममा उनले एमालेका प्रतिस्पर्धी दलहरु नेपाली कांग्रेस र एमाओवादीकोमात्र नभई आफ्नै पार्टीका प्रमुख नेताहरुलाई समेत अप्रत्यक्ष किसिमले कटु आलोचना गरे । उनले भने–विचार गलत भए पार्टी खतम हुन्छ तर एमालेमा विचारमा वहस गर्नेहरु कम छन् । जसले बहस गर्न सक्दैनन् उनीहरु नै गाली गलौजमा उत्रिएर प्रतिस्पर्धा गर्न खोज्छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले हिजोका दिनमा पार्टीमा आटिला मान्छेको खोजी हुन्थ्यो तर अहिले स्वच्छ छवि भएका इमान्दार र निष्ठावान नेता र कार्यकर्ताको खाँचो भएको बताए । अरु बामपन्थी दलहरूलाई समेत नेतृत्व दिएर अघि बढ्नुपर्ने अवस्थामा अरु कसैलाई पनि पार्टीभित्र आउन नदिने प्रवृति गलत भएको नेपालको भनाइ थियो । उनले अबको एमाले कांग्रेस संग टक्कर दिन सक्ने र जनताको आशा र विश्वास बोक्न सक्ने पार्टी बन्नुपर्नोमा उनको जोड थियो ।
मदन भण्डारी अध्ययन केन्द्र गण्डकीले आयोजना गरेको नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशन र जनताको बहुदलीय जनवादको सान्दर्भिकता विषयक विचार गोष्ठीमा बोल्दै उनले कार्यकर्तालाई धम्क्याएर, आश्वासन दिएर भोट माग्नेहरु आफै परास्त हुने दावी गरे । ‘एउटा नेताको दादागिरी पार्टीभित्र चल्नेवाला छैन’ उनले भने, ‘विचारको वहस गर्न नसकेपछि केही नेताहरु आरोप प्रत्यारोपमा तल्लीन छन् ।’ आफ्नो उम्मेदवारी बास्तवमै पार्टीको नेतृत्व हस्तान्तरणको पक्षमा रहेको उनले जिकिर गरे । जनवर्गीय संगठनलाई लगातार कब्जा गर्नेहरुले नेतृत्व हस्तान्तरणका चर्को भाषण गर्न नमिल्ने नेपालले बताए । आफू महासचिव हुँदा पार्टीमा बहुपदीय प्रणाली सुरु नभएको बताउँदै नेता नेपालले पार्टी पद्धतिको व्याख्या गर्न नजान्नेहरुले कार्यकर्ता झुक्याउने खेलमा लागेर आफूलाई अध्यक्ष उठ्न पाउँदैन भन्ने हल्ला फैलाएको उनको आरोप छ । ‘नयाँ र जनताको पार्टी निर्माणको अभियानलाई सफल पार्नका लागि मेरो उम्मेदारी हो,’ नेता नेपालले भने, ‘डनवाद र धनवादलाई प्रश्रय दिनेहरु नेतृत्वमा पुगे पार्टीको अवस्था दयनीय हुनेछ ।’
कार्यक्रममा बोल्दै एमालेका सचिव युवराज ज्ञवालीले पार्टीको सही नेतृत्व माधव नेपालले मात्र गर्न सक्ने दावी गरे । युवा नेता घनश्याम भूषालले पार्टीको अध्यक्षमा माधव नेपाल पराजित भए पार्टीको बास्तविक विचारले हार्ने बताए । केही नेताहरु चुनौती र एजेण्डाको व्याख्या नगरी नेतृत्वमा होडबाजीमा लागेको उनको आरोप छ । बामदेव गौतम र केपी ओलीको सम्बन्ध रङगीविरङ्गी भएको भूसालले बताए । गौतम र ओलीको सम्बन्ध विचारका लागि नभइ केवल नेतृत्व र स्वार्थका लागि मात्र भएको दावी गर्दै भूषालले माधव नेपाललाई हराउन उनीहरुले सत्ता र सरकारको समेत दुरुपयोग गरी नेता कार्यकर्तालाई लोभ्याउन खोजेको बताए । पोलिटव्यूरो सदस्य सुरेन्द्र पाण्डेले ओलीले एमालेलाई गुण्डा र लफङ्गाहरुको पार्टी बनाउन लागेको आरोप लगाए । अहिलेको अवस्थामा पार्टीलाई गतिशील नेता आवश्यक परेको बताउँदै उनले पार्टीको सहि नेतृत्व माधव नेपालले मात्र गर्नसक्ने दावी गरे । ‘एउटा गुटको नेतृत्व गर्नेले पार्टीको नेतृत्व गर्न सक्दैन,’ ओलीतर्फ लक्षित गर्दै पाण्डेले भने । कार्यक्रममा नेकपा एमालेका युवा नेताहरु गोकर्ण विष्ट, नेता रघुजी पन्त, ठाकुर गैरे लगायतले बोलेका थिए । यस अगाडि जेठ ९ गते पोखरामा ओली पक्षको भेला सम्पन्न भएको थियो ।
Post a Comment