गोल्डेन न्यूज संवाददाता
पोखरा ४ जेठ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक वसन्तकुमार लामाले सुरक्षाको महत्वपूर्ण पक्ष नै होसियारी भएको बताएका छन् । नागरिक र प्रहरी दुवै पक्षमा कमजोरीकै कारण सुरक्षामा चुनौती थपिएको भन्दै उनले सो कमजोरी हटाई आपसमा मिलेर सहकार्य गरे अघि बढ्नुपर्नेमा उनले जोड दिए । आम नागरिकमा सुरक्षा सम्बन्धी जानकारी गराउनका साथ प्रहरी कार्यमा आम नागरिकको सहयोग जुटाउने उद्देश्यले कास्कीको लुम्लेमा आयोजित कार्यक्रममा बोल्दै उनले देशको कानूनको पालना गर्दै निःस्वार्थ जनताको सेवा गर्नेछांै भनि कसम खाएका प्रहरी संगठनका केही गलत सदस्यका कारण भएको बदनामी मेटाउन प्रहरी संगठन लागि परेको बताए । उनले समाज चनाखो भई सकारात्मक सोचका साथ काम गरेमा प्रहरीको आचरण र व्यवहारमा छिट्टै परिवर्तन हुने स्पष्ट पारे । अन्तरक्रियामा उठेका प्रश्नको जवाफ दिंदै उपरीक्षक लामाले हरेक सकारात्मक कार्यको लागि नागरिक प्रहरी सहकार्य गर्न जिल्ला प्रहरी कार्यालय कास्की सधैं तत्पर रहेको बताउदै आम सुरक्षाका लागि प्रतिवद्धता जनाए । प्रत्येक नागरिक बिना वर्दीका प्रहरी हुन भने प्रत्येक प्रहरी वर्दी सहितका नागरिक हुन् उनले भने ।
सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको संयोजन, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र बगरको व्यवस्थापन र लुम्ले गाविसको आयोजनामा लुम्ले गाविसका सचिव हरिप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका लुम्ले गाविसका सबै वडावासीको सहभागिता रहेको थियो । कार्यक्रममा नागरिक सुरक्षाको सम्बन्धमा आम नागरिकले जान्नुपर्ने सामान्य कुराहरु, प्रहरी, सामुदायिक प्रहरी, नागरिक प्रहरीको सम्बन्ध, प्रहरी तथा आम नागरिकको जिम्मेवारी तथा कार्यक्षेत्रको बारेमा सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका प्रहरी नायव निरीक्षक रेशम पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।
सामुदायिक सेवा जिल्ला समन्वय समिति कास्कीका महासचिव बिमलबहादुर कार्कीले संचालन गरेको कार्यक्रममा संस्थाका अध्यक्ष लालबहादुर श्रेष्ठ, निवर्तमान अध्यक्ष सीता गुरुङ, भरत देवकोटा, लक्ष्मण देवकोटा, चन्द्रबहादुर गुरुङ, जौमाया देवकोटा, सन्तोष गुरुङ, आसमाया वि.क., जीवन देवकोटा, भक्तिराम देवकोटा, चुणाराम देवकोटा, नारायण बराल समेतका वक्ताहरुले सुरक्षा, प्रहरीको हालको व्यवहार, सुधार गर्नुपर्ने विषय लगागत गाविसका अन्य विषयमा समेत बोलेका थिए । कार्यक्रमका संयोजक सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र बगरका अध्यक्ष पुरुषोत्तम श्रेष्ठले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।
Post a Comment