पोखरा २ जेठ ।(गोल्डेन)
आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्न थप टेवा पुग्ने उद्देश्यका साथ नेपालको आन्तरिक उडानमा ख्याती पुुर्याएको सिम्रिक एयरलाईन्स प्रा.लि.ले पोखरा–भैरहवा सिधा उडान सेवा सञ्चालन गरेकोप्रति नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघले खुशी व्यक्त गरेको छ । संघका अध्यक्ष पोमनारायण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा नेपालको भौगोलिक बिकटताले स्थलमार्ग र अन्य कारणबाट पोखरा आउन चाहने पर्यटकहरुलाई पोखरा–भैरहवा उडानबाट थप टेवा पुग्ने विश्वास गरिएको छ । विशेष गरि यस किसिमको उडानबाट भारत हुँदै आउने भारतीय र अन्य मुलुकका पर्यटकहरुलाई पोखरा र यस वरिपरिका धार्मिक एवं अन्य पर्यटकीय गन्त्यव्यहरुमा सजिलै पुग्न र फर्कन सहज हुने विश्वास समेत नाट्टाले लिएको छ । पर्यटकीय ट्रायङगलको रुपमा रहेका लुम्बिनी चितवन भैरहवा र पाल्पाको पर्यटन विकासमा महत्वपूर्ण भूमिका सिम्रिक एयरको उडानबाट पुग्ने उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ–‘पर्यटकहरुको आगमनमा वृद्धि भई पश्चिमाञ्चल तथा समग्र देशको पर्यटन प्रबद्र्धन हुने हामिले महसुस गरेका छौं ।’ पर्यटकहरुले पनि छोटो समयमा धेरै स्थलहरुमा घुम्न र हेर्न पाउने भएकोले पनि पर्यटकको ठूलै हिस्सा ओगेटेको भारतीय पर्यटकहरुको उल्लेख मात्रामा बृद्धि हुने अपेक्षा नाट्टाले गरेको छ । आगामी दिनहरुमा यस सेवालाई अझ विस्तार गरि पोखराबाट नेपालका अन्य स्थाहरुमा पनि सेवाहरु प्रदान गरी नेपालको पर्यटन उद्योगमा आयम ल्याउन सिम्रिक एयरलाईन्स सफल हुने विश्वास नाट्टाले लिएको छ ।
Post a Comment