0


असफल गौतम

सन्दर्भ ः वर्तमानमा जीतपुर फेदी–२ मा जन्मेका दामोदर पुडासैनी र यात्रा निबन्ध विधा एक अर्काका परिपुरक बनिसकेको अवस्था छ । एक श्रीमती, एक÷एक छोराछोरीसहितको परिवारमा हाल ग्वंगःबु नयाँ बसपार्कमा बसोबास गर्दै आएका पुडासैनी लेखनमा नयाँ स्वाद दिन रुचाउने लेखक हुन् । स्नातकोत्तर तहसम्मको अध्ययन गरेका पुडासैनीले आफन्तका अनुहारहरू (२०४९), आँखाको खोजीमा
(२०६२), आलोकित आयाम, आकारको खोजीमा (२०६३) र समयको सही छाप (२०७०) जस्ता पाँच कवितासङ्ग्रह प्रकाशित गरिसकेका छन् । यस्तै नमेटिएका चित्रहरू (२०६५) र नमेटिएका चित्रहरू (२०७०) दुई यात्रानिबन्ध कृति पछिल्लो समय निकै चर्चामा गरेका कृतिहरू हुन् । संयुक्त राज्य अमेरिका, वेलायत, रूस, जापान, फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्डस्, अष्ट्रिया, स्वीट्जरल्याण्ड, इजिप्ट, साउदी अरेविया, जोर्डन, कतार, युनाइटेड अरब इमिरेट्स, थाइल्याण्ड, पाकिस्तान, श्रीलङ्का, म्यान्मार, भारत, बङ्गलादेश, चीनलगायतका विभिन्न देशहरूको भ्रमण गरेका पुडासैनीले यिनै देश भ्रमण गर्दाका अनुभवहरूलाई सिर्जनाको लाममा उन्दै जान्छन् । उनी अनुभव र अवसरलाई मात्र सदुपयोग गर्दैनन् । महालेखा परीक्षकको कार्यालय, काठमाडौंका निर्देशकसमेत रहेका पुडासैनी आफ्ना यात्रानिबन्धले पनि महालेखक बन्ने बाटो फैलाउन भन्ने अभिलाषा राख्छन् र पृथक स्वादले आम पाठकको मन लोभ्याउन सफल हुन्छन् । वि.सं. २०३४ सालमा शहिद शीर्षकको कविता जनजागृति साप्ताहिक पत्रिकामा प्रकाशन गरी वाङ्मयिक यात्राको थालनी गरेका पुडासैनीका वाङ्मयिक यात्राका खुड्किला निरन्तर उक्लिएर मैदानमा आइपुग्न लागेको उनको व्यक्तित्वले देखाइदिएको तथ्य हाम्रा सामु आफैँ बोलिरहेका छन् ।
विषयप्रवेश ः आफन्तका अनुहारहरूदेखि समयको सही छापसम्म आइपुग्दा किशोरलाई यात्री कविका रूपमा चिनिने माध्यमहरू बनेको पाइन्छ । यात्रानुभवलाई कविताका माध्यमबाट प्रस्तुत गर्ने क्रममा किशोरका यस अगाडि नै उल्लेख्य कृति प्रकाशित भइसकेका छन् । किशोरले यात्राको मर्म बुझेका । यात्रामा भावना मिसाउन जानेका । यात्रामै समाज उत्तार्न, त्यो मात्र हैन यात्रामै स्वदेश तथा विदेश । जनता, भेषभुषा, धर्म, भाषाभाषी र सम्पूर्ण समूदायलाई कैद गर्न माहिर छन् । यही अर्थमा उनी सवल, सक्षम, कुशल, सबैका प्यारा र सरल नियात्राकार हुन् । पङ्क्तिकार उनको नियात्रा लेखनका विषयलाई लिएर धेरै वहस गर्ने लेखक होइन तापनि यो मान्दैन, अक्षरहरूको थुप्रो लगाउनु मात्र लेखक र अक्षर थुपारेर साहित्यकार हुन सक्दैनन् । साहित्य, साहित्य जस्तो हुनुपर्छ । उनका सिर्जनामा साहित्य बन्ने आधारभूत तत्व पाइन्छन् । तीनै तत्वले भरिएको पछिल्लो कृति हो नमेटिएका चित्रहरू । जुन कृतिमा समावेश गरिएका विषयवस्तु विभिन्न देशका अवलोकन भ्रमणका रमाइला सन्दर्भ र सो क्रममा भोग्नु परेका विविध सास्तीहरूको बयान नै यात्रानिबन्धका मुख्य विषयवस्तु बनेर आएका छन् । एक देशबाट अर्को देशमा जाँदाका भाषिक अस्पष्टता । अवलोकनका सन्दर्भमा देखापरेको बाटोघाटो । यात्रामा कावा खादै रमाएको सन्दर्भ । विभिन्न देशहरूको सामाजिक रहनसहन । यात्रामा देखे र भोगेका समग्र दृश्यहरूको सङ्कलन । प्रवासी नेपाली दाजुभाइहरूको नेपाल र नेपालीप्रतिको माया एवम् सद्भाव । विभिन्न स्थलहरूको सोधखोज । अध्ययन र अनुसन्धान नै कृतिमा समावेश भएका मुख्य विशषवस्तु हुन् । आफू सँगसँगै यात्रा थालेका साथीहरूसहित विमानमा भेटिएकादेखि उनको अनुसन्धानको कार्यलाई सहज पार्ने पात्रको व्यापक प्रयोग गरिएको छ । जुन पात्रहरू लेखकले निम्त्याएको नभइकन समय सन्दर्भनुसार आएका छन् । काठमाडांैंदेखि सुरू भएको कृतिको पर्यावरण विभिन्न मुलुकको मिहिन तरिकाले उल्लेख । प्रत्येक यात्रानिबन्धको अन्त्यमा यात्रास्थल र मितिको उल्लेखले कृतिको कालक्रम निर्धारण गरेको छ । आयामका हिसाबले कृति भित्रका यात्रानिबन्धहरू छोटो समय अवधिमा लेखिएका हुन् । महालेखा परिक्षणको सिलसिलामा विभिन्न मुलुकहरूको यात्राको समयावधि नै कृतिको समय हो । विदेशी परिवेशको यात्रावर्णन, सम्बद्ध यात्राप्रदेशको बहुपक्षीय चित्रण । विशेषतः ग्राम्य प्रकृति, समाज, संस्कृति र जनजीवनको विशुद्ध चित्रण । समाजमा व्याप्त स्तुतिवादी र छाडावादी प्रवृत्ति तथा विविध क्षेत्रका राष्ट्रिय प्रतिभाहरूप्रति उपेक्षापूर्ण दृष्टिका साथै उनीहरूलाई कुण्ठित, निरूत्साहित एवम् दण्डितसमेत तुल्याउने विडम्बनापूर्ण विधि–व्यवहारको पुनरावृत्त श्रृङ्खलाको विरोध । प्रशासनिक संयन्त्रको षड्यन्त्रकारी र बर्वर चरित्रको यथार्थ चित्राङ्कन । प्रकृति, राष्ट्र एवम् कलाप्रति अपार प्रेम । साक्षात्कृत स्थान, दृश्य र घटना–प्रसङ्गहरूको सूक्ष्म दृष्टिले अवलोकन, निरीक्षण, विश्लेषण तथा गम्भीर टिप्पणी । घटनाक्रम जोडाइको मिठो भावभूमि तयार गर्ने शैली, लय निर्माणका लागि काव्यात्मक शैलीको प्रयोग । विभिन्न रस, अलङ्कार, शब्दशक्ति, रीति, ध्वनि वक्रोर्तिजस्ता कलात्मक तत्वहरूमा पनि उनीले समयमै ध्यान पु¥याएर उच्च गुणस्तरको स्वरूप र संरचना निर्माण गरेका छन् । कतै उनी संस्मरणात्मक रूपमा आफ्नो कलमलाई अगाडि बढाउछन् । कतै सुक्ष्म आख्यान र रागात्मक संवेदना व्यक्त गरी विषयवस्तुलाई प्रयाप्त प्रेम भाव दशाउँदै आफ्नो यात्रासाहित्य प्रतिको आशक्तिलाई पनि व्यक्त गर्न भ्याउछन ।
अवलोकन भ्रमणलाई केन्द्रबिन्दु बनाएर लेखिएका कारण त्यति धेरै विम्ब र प्रतिकको प्रयोग कृतिमा पाइदैन । उनले कवितामा जसरी विम्ब र प्रतिकको समायोजनालाई मिठास बनाउछन् नमेटिएका चित्रहरूमा बनाउन नसकेको अनुमान हुन्छ । कृतिमा निबन्धात्मक–संस्मरणात्मक, आख्यानात्मकसँगसँगै विशेषगरी काव्यात्मक प्रस्तुति पाइन्छ । पर्याप्त मात्रामा स्थानीयता, तथ्यात्मकता, निजात्मकता, अनुभूति, चिन्तन, आत्मीयता, चित्रात्मकता, स्वच्छन्दता, रसात्मकता, रागात्मकता, रोचकता र भावात्मकता आदि गुण छताछुल्ल भएर प्रकट भएका छन् । पूर्वस्मृतिको अङ््कन, स्वरचित एवम् अन्यद्वारा रचित सिर्जनाका अंशको समावेश उनका मूलभूत प्रस्तुतिगत प्रवृत्ति र उपलब्धि हुन् । यथार्थवादी, जीवनदृष्टि, मानवतावादी विचार, छाडा प्रविधिको प्रखर विरोध, समाजका निम्न र उपेक्षितवर्गप्रति सहानुभूति । सरल, संयुक्त र मिश्र तीनवटै प्रकारका वाक्य एवम् तत्सम्, तद्भव, आगन्तुक र आवश्यतानुसार विभिन्न भाषाका शब्दको प्रयोग । उल्लेख्य मात्रामा अनुकरणात्मक शब्द र निपातको प्रयोग । सरल, प्राञ्जल, प्रवाहमय, सहजसम्प्रेष्य एवम् कवितात्मक र चोखो भाषा, प्रभावकारी कथन, स्थानीय व्यक्तिपात्रको संवाद उनको कृतिमा छताछुल्ल भएर आएका छन् । नियात्रामा भित्र्याइएका स्थलहरूको सत्यतथ्य वर्णनका लागि ज्ञानवद्र्धक विषयको जानकारी, खोज र अनुसन्धान उल्लेख गरेका सन्दर्भहरूले स्वतः किशोर एक अन्वेषक रहेको पुष्टि गरेको छ । उखान टुक्काको प्रयोगमा उनी निकै माहिर रहेका छन् । कृतिमा मन फुकाउने ठाउँ पाउने बित्तिकै जनजिब्रोमा भिजेका धेरै टुक्काको प्रयोग गरेका छन् । उनी उखान प्रयोगको समय कुरेर बस्ने गर्दछन् । केही मिल्दो जुल्दो अवस्था आयो भने साना बालबालिकालाई बाबु आमाले चुट्ट दुध चुसाएझै राम्रैसँग स्वाद दिलाएका छन् । आफूलाई मन परेका उखान टुक्का भने बारबार प्रयोग गर्न पनि उनी पछि पर्दैनन् ।
नमेटिएका चित्रहरू किशोरको दोस्रो यात्रानिबन्ध सङ्ग्रह हो । कविताको स्वरूपमा यात्राको बान्की पेश गरी नयाँ रसास्वादन गर्ने अभ्यास गरिसकेका किशोरलाई गतिलो र द्रविलो यात्रा निबन्धकै पूर्ण सङ्ग्रहले नियात्राकारका रूपमा स्थापित गरिदिएको छ । अध्ययनका क्रममा कृति जति पढ्दै गइन्छ, उती कौतुहल्ता जगाउछ र स्वयम् आफैँ भ्रमण गरिरहेको भान पाठकलाई हुन पुग्छ । जुन ठाउँमा लेखक पुगेका छन् ती ठाउँहरूको चिनारी राम्रोसँग दिन्छन् । यो किशोरको लेखन कला चमत्कारपूर्ण भएको प्रमाण हो । जहाँ जति देशको भ्रमण भयो त्यो भ्रमण क्रममा देखिएका भोगिएका अनुभूति मात्र यहाँ छैनन् । यहाँ अटाएको छ त्यहाँको कला, संस्कृति । ऐतिहांसिक पृष्ठभूमि, सामाजिक यथार्थता र प्राकृतिक सौन्दर्य । यति मात्र होइन मानविय कला, कौशल, देशप्रतिको भावना, अनुभूति, जागरण, युद्धको प्रभाव र त्यसले निम्त्याएका दुखद् अनुभूतिका साथै आफनो जीवन हेर्ने कोशिस नमेटिएका चित्रहरूमा भएको छ । पाठकलाई कृति अध्ययन गर्दै जाँदा कतै पनि पट्यार लाग्दैन । उनी विदेशका जुनसुकै ठाउँमा पुगे पनि नेपाल बोकेर हिंडेका छन् । देशप्रेम उनको यात्रानिबन्धको अब्बल दर्जाको सबल पक्ष हो । यस्तै लेखनप्रतिको इमान्दारिता । काव्यात्मक शैलीको प्रयोग लेखनीको थप मजबुद पार्ने आधार सामग्री हुन् ।
निष्कर्ष ः समयको गतीसँगै बढेको विज्ञानको विकासक्रमले आज संसार खुम्चँदै गएको अनुमान हामी सबैले गरेको कुरा हो । यातायात र सञ्चारको सुगमताले विश्वको एक र अर्को छेउबीचको दूरीमा आम्नेसाम्नेको अवस्था सिर्जना भएको छ । समयको गती र मानवीय सभ्यताको विकास एवम् विस्तारले आज भ्रमणको उद्देश्य पनि व्यापक बनेको छ । एक क्षेत्रमा मात्र सीमित नरहेकै विविधताले यात्रा साहित्य अत्यन्त उर्वर, व्यापक र अनेक सम्भावनाहरूले युक्त बनेको छ । राजनैतिक, आर्थिक, धार्मिक, सांस्कृतिक, वैज्ञानिक र पर्यटनलगायत विभिन्न उद्देश्यबाट अभिपे्ररित भई एक ठाउँबाट अर्को र एक देशबाट अर्को देशको भ्रमण गरिरहन्छन् हरेक व्यक्तिहरू । थोरै व्यक्तित्वहरू मात्र नेपाली वाङ्मयको क्षेत्रलाई माया गर्छन । साहित्य सिर्जनालाई जीवनको अभिन्न अङ्ग ठान्छन् । तिनै व्यक्तित्वमध्येका एक साहित्यिक मन बोकेका र भ्रमणका सन्दर्भहरूलाई जीवन्तता दिनका लागि सधै नवीनताको खोजीमा भौतारिइरहेका किशोरको भ्रमण नै काव्य कृति बनेर निस्केको हो । यो अत्यन्त सुखद् क्षण हो । विदेशको भूगोललाई नजिकबाट खुट्याउन र त्यहाँका अन्तरकुन्तरलाई छिमल्न यो कृतिले सामान्य पाठकदेखि अनुसन्धातालाईसमेत सहयोगी देखिन्छ । भ्रमण र अवलोकनका क्रममा पुगेका ठाउँहरूको परिचर्चा गर्नेदेखि विभिन्न स्थानहरूको विशिष्ठताका बारेमा यथोचित वर्णन गर्न लेखकले निकै मेहेनत खर्चेका छन् ।
स्थलगत भ्रमणका क्रममा जम्मा गरेका तथ्य, तथ्याङ्क र सूचनाका आधारमा उनले तत्तत् स्थानसँग सम्बन्धित किंबदन्ती र ऐतिहासिक विवरणहरूलाईसमेत प्रस्तुत गरेका छन् । लेखकका आफ्नै आ“खाले देखेका र पाइतालाले नापेका सुन्दरतम् स्थानहरूको परिचयात्मक वर्णन भरिएकोले कृति उत्कृष्ट छ । किताबको आकारप्रकार र यसले उठान गरेका विषयहरू गहन र फराकिला छन् । काव्यात्मक शैलीको प्रस्तुतीकरण, व्यवस्थित र परिमार्जित हुनाका साथै समेटिएका जानकारीहरू रोचक छन् । यसर्थ कृति पठनिय र सङ्ग्रहणीय रहेको छ ।
विभिन्न लेखकका विभिन्न शैलीका यात्रा निबन्धका विशेषता आफ्नै ठाउँमा छन् । तर यात्रा निबन्धको ठेली पल्टाएर इतिहास हेर्ने हो भने, वर्तमानमा पाँच सय २१ वर्षको अवधि यो विधाले पार गरेको अवस्था छ । यतिका लामो समयको अन्तरालमा यसै विधाका हजारौं कृतिहरू आम पाठकको अदालतमा पेश भइसके । कयौ कृतिहरूले स्वदेश एवम् विदेशी भूमिमा प्रतिष्ठित र लिमिटेड पुरस्कार ग्रहण गर्ने अवसर लेखकलाई प्रदान गरे । कृतिहरू पुरस्कृत भए । यि सबै अवसरको सिर्जना गर्ने भनेका पहिला तिनै लेखक हुन् । त्यसपछि मात्र यात्रा निबन्धको विधा । विविध विधामध्ये लेखकले यात्रानिबन्धलाई अङ्गिकार नगरेको भए कहाँ लेखिन्थ्यो यात्रानिबन्ध । यात्राको समयमा लेखिएका निबन्ध ।
यात्रा निबन्ध भने पनि नियात्रा भने पनि दुवै एउटै हुन् आउने यस विधामा पछिल्लो समय काव्यात्मक शैलीको प्रयोगसमेत हुन थालेको छ । जुन नयाँ प्रयोग किशोरले नै गरेका छन् । उनी यो प्रयोगमा सफल भएका  पनि छन् । काव्यात्मक पारामा यात्रानिबन्धको उठान र काव्यात्मक पारामै बैठानले उनको कृतिले बजारमा प्रयाप्त चर्चा बटुल्न सफल भएको छ । किशोरले यात्रानिबन्धमा नयाँ प्रयोग गरी जोखिमपूर्ण तर गर्नैपर्ने कार्यको थालनी गरेका छन् । जो प्रशंसनीय छ । साहित्यिक फाँटमा थप इट्टा थप्ने काममा कृतिले ओजिलो भूमिका निर्वाह गर्ने छ । उनले आफ्नो घुमन्ते अनुभवको संगालो काव्यात्मक शैलीलाई व्यापक पारी प्रकाशन गर्ने जुन जमर्को राखे, यसलाई निरूत्साहित गर्नुपर्ने कुनै कारण छैन । घुमाइमा जे देखे, सो लेखे । जती लेखे, त्यति नै प्रकाशन गर्ने रुचि जगाए । आफूले जति बुझे, त्यति नै पाठकका हातमा पु¥याउन रूचाए तसर्थ कृति उनको नितान्त वैयक्तिक अनुभवको उपज भएतापनि पुस्तकमा स्थान विशेष, घटना र परिघटनाहरूका बारेमा थप सोधखोज एवम् अनुसन्धान गरेकाले र काव्यात्मक शैलीमा लेखिएकाले कृति उत्कृष्ट बनेको छ ।



Post a Comment

 
Top