गोल्डेन न्यूज संवाददाता
पोखरा १४ जेठ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र
(इन्सेक) का कार्यकारी निर्देशक विजयराज गौतमले पछिल्लो समय पारिवारिक कारणले समाजमा महिला र बालबालिकामाथि हिंसाका घटना बढ्दै गएको बताए । इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालयद्वारा जेठ १४ गते पोखरामा आयोजित पश्चिमाञ्चल क्षेत्रको मानवअधिकार स्थिति सार्वजनिक कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक गौतमले मानवअधिकार उल्लंघनमा केही कमी आएपनि प्रबृतिमा भने सुधार नआएको बताए । समाजमा महिला र बालबालिका माथि हुने हिंसाका घटना नरोकिएको बताए ।
सन् २०१४ को जनवरीदेखि मार्चसम्म पश्चिमाञ्चल क्षेत्रमा भएका १ सय ८५ ओटा मानव अधिकार उल्लंघनका घटनासहितको प्रतिवेदन इन्सेक क्षेत्रीय कार्यालयले सार्वजनिक गरेको हो । प्रतिवेदन सार्वजनिक गर्दै इन्सेकका क्षेत्रीय संयोजक भोला महतले सबैभन्दा बढी घरेलु हिंसाबाट १ सय २६ जना महिला र यौनजन्य हिंसाबाट ३७ जना बालिका पीडित भएको बताए । उनले यस अवधीमा परिवारजनबाट दुई जना महिला र एक नावालिकाको हत्या भएको, वेवारिसे विस्प्फोटनमा दुईजना बालक घाईते भएको तथा बोक्सी आरोपमा कुटपिट र जातीय विभेद जस्ता घटना भएको जानकारी दिए ।
राष्ट्रिय मानवअधिकार आयोग पोखराका निमित्त निर्देशक डा.टीकाराम पोख्रेलले राज्यपक्षबाट प्रत्यक्ष रुपमा मानवअधिकार उल्लघन नभएपनि गैरराज्यपक्षबाट भएको उल्लंघनमा समेत अप्रत्यक्ष रुपमा राज्य नै जिम्मेवार रहेको बताए । नेकपा एमालेकी उपसचिव प्रभा कोइरालाले संक्रमणकालमा मानवअधिकार उल्लंघन बढ्ने बताउँदै देशको मूल कानुन संविधान निर्माणमा सवैले दवाव दिनुपर्ने बताईन् । एनेकपा माओवादीका उपाध्यक्ष गंगाप्रसाद पोख्रेलले देशको राजनीतिक अवस्थाले मानव अधिकारलाई चित्रण गर्ने भएपनि मुलुकमा मानवअधिकारको संस्कार विकास हुन नसकेको बताए । जिल्ला प्रहरी कार्यालयका एसपी बसन्तकुमार लामाले घरेलु हिंसाबाट महिला तथा पुरुष पीडित हुने गरेको बताउँदै मानवअधिकार सम्मान र सुरक्षाको दृष्टिकोणले प्रहरी जिम्मेवार निकाय भएकोले सुरक्षा निकाय संवेदनशील बन्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा शान्तिका लागि नागरिक समाजको सञ्जालका संयोजक तिलक आचार्य,बरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बराल, मानवअधिकारकर्मी नवदत्त ढुङ्गाना, स्थानीय शान्ति समितिका सचिवालय सदस्य खगराज आचार्य, गैरसरकारी संस्था महसंघका अध्यक्ष गोपाल खड्का, इन्सेक पोखराका सहायक प्रलेख अधिकृत टंक खनाल लगायतले आ–आफ्नो भनाई राखेका थिए ।
Post a Comment