काठमाडौं १६ जेठ ।(रासस)
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले सुर्तीजन्य पदार्थमा कर बढाएर भएपनि त्यसको उत्पादन र प्रयोगलाई निरुत्साहित गर्न जरुरी रहेको बताएका छन् । विश्व धूमपानरहित दिवसको सन्दर्भमा मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा मन्त्री अधिकारीले कम्तिमा दक्षिण एसियाका अन्य मुलुकसरह सुर्तीजन्य पदार्थमा करको दायरा बढाउन आवश्यक रहेको धारणा राखे । उनले सुर्तीजन्य पदार्थको खोलमा ७५ प्रतिशत भागमा स्वास्थ्य खराबीसम्बन्धी चेतावनी नराखेको पाइए त्यस्ता उत्पादनलाई नष्ट गरिने बताए ।
सुर्तीजन्य पदार्थको प्रयोग गर्नु मन्द विष सेवन गरेसरह भएको बताउँदै उनले सुर्तीजन्य वस्तुसम्बन्धी कानुनलाई पालन गराइछाड्ने उद्घोष गरे । राष्ट्रिय योजना आयोगका सदस्य यज्ञबहादुर कार्कीले सुर्तीजन्य पदार्थबाट राज्यलाई प्राप्त हुने करको तुलनामा त्यसको प्रयोगबाट स्वास्थ्यमा हुने खराबीको उपचारमा लाग्ने रकम सयौं गुणा बढी भएको बताउँदै सुर्तीजन्य वस्तुको प्रयोग र उत्पादनलाई नियन्त्रण गर्न जरुरी रहेको भनाइ राखे ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. प्रवीण मिश्रले नेपालमा बढी लाग्ने रोगमध्ये दम, हृदयरोग, क्यान्सर र मधुमेह रहेको र ती सबैको कारक तत्व सुर्तीजन्य पदार्थ रहेको बताए । विश्व स्वास्थ्य सङ्गठनका नेपाली प्रतिनिधि लिन अउङ्ले विश्वमा प्रत्येक ६ सेकेन्डमा एक जना व्यक्तिको सुर्तीजन्य पदार्थको प्रयोगको कारण हुने गरेको तथ्याङ्क प्रस्तुत गर्दै यसको रोकथाम गर्न आवश्यक रहेको भनाइ राखे । कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँलाई नेपालमा सुर्तीजन्य पदार्थविरुद्धको अभियानमा सक्रिय भूमिका खेलेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले प्रदान गरको पुरस्कार र प्रमाणपत्र हस्तान्तरण गरियो । ‘सूर्तीजन्य पदार्थमा कर बढाऔं, रोग तथा मृत्यु घटाऔं’ भन्ने नाराका साथ भोलि (शनिबार) विश्व धूमपानरहित दिवस मनाइँदैछ । यसैबीच, नेपाल अर्बुद रोग निवरण संस्थाद्वारा आयोजित कार्यक्रमका सहभागी वक्ताहरूले पनि सुर्तीजन्य पदार्थका कारण हुने रोग न्यूनीकरण गर्न सरकारले आगामी वर्षदेखि सुर्तीजन्य पदार्थमा अधिक मात्रामा कर बढाउनुपर्नेमा जोड दिइएका छन् ।
अन्तक्र्रिया कार्यक्रममा संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ, पूर्व अध्यक्ष दिवाकर राजकर्णिकार, उपाध्यक्ष डा राजेन्द्र प्रसाद बराललगायतले सुर्तीजन्य पदार्थमा हाल लिइरहेको करलाई बढाउन सकेमा सुर्तीजन्य पदार्थको प्रयोगकर्ताहरूमा व्यापक कमी आउने दाबी गरे ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. प्रवीण मिश्रले सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनमा सबै लाग्नुपर्नेमा जोड दिँदै सुर्तीजन्य पदार्थमा लिइआएको करमा १० प्रतिशतमात्र बढाउन सके पनि करिब आठ प्रतिशत उपभोगमा कमी आउने दाबी गरे । कार्यक्रममा सभासद्हरू गगनकुमार थापा र रामेश्वर फुयाँलले आगामी बजेटमा सुर्तीजन्य पदार्थमा कर बढाउनका लागि पहल गर्ने बताए । नेपालमा सुर्तीजन्य पदार्थको कर दुई पैसा प्रति खिल्ली छ, ३० प्रतिशत नेपाली सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको तथ्याङ्क रहेको छ ।
Post a Comment