गोल्डेन न्यूज संवाददाता
पोखरा १६ जेठ ।
कास्की जिल्ला बुद्धिचाल संघको आयोजनामा बिहीबारदेखि पोखरामा शुरु भएको अन्तर्विद्यालय बुद्धिचाल प्रतियोगिता जारी छ । आठ चरणमा सम्पन्न हुने प्रतियोगितामा शुक्रबार सम्ममा छैटौं चरणसम्मका खेलहरु सम्पन्न भएका छन् । शनिबार सातौं र आठौं चरणका खेलहरु संचालन हुने र समापन गरिने बताइएको छ । शुक्रबार सम्पन्न छैटौं चरणका खेलबाट मनिङ ग्ललोरी स्कूलकी पूना भण्डारी शीर्ष स्थानमा रहन सफल भएकी छन् । उनले ६ अंक प्राप्त गरेकी छन् । त्यस्तै परिचित कुँवरले ५.५ अंक प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् भने रञ्जन गौतम, निर्मल थापा, सन्देश पण्डित, सुवास क्षेत्री, अशोक गुरुङ, मुक्ति गुरुङ, प्रकाश बुढाथोकी, विश्वास गुरुङ र निशान पौडेलले समान ५ अंक प्राप्त गरी तृतीय स्थानमा खेलिरहेका छन् । यस्तै अटल कोइराला, विकास भट्टराई र तिमेश श्रेष्ठले ४.५ अंक प्राप्त गरी चौथो स्थानमा रहेका छन् ।
प्रतियोगितामा पोखराका दुई सरकारी विद्यालयसहित २८ विद्यालयका १०९ विद्यार्थी सहभागी छन् । खेल अन्तर्राष्ट्रिय बुद्धिचालको नियमानुसार संचालन गरिएको छ । प्रतियोगितामा प्रथम हुनेलाई राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा सहभागी गराइने संघका अध्यक्ष बाबुराम पन्तले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने स्कूलले रनिङशिल्ड र उत्कृष्ट १० स्थान हासिल गर्ने खेलाडी पुरस्कृत हुने र उत्कृष्ट ५ महिला खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको संघका अध्यक्ष पन्तले बताए ।
Post a Comment