गोल्डेन न्यूज संवाददाता
पोखरा १४ जेठ ।
टोल विकास संस्था वडा समन्वय समिति वडा नं.१० को आयोजनामा सकारात्मक सोंच तथा उद्घोषण तालिम सम्पन्न भएको छ । टोल विकास संस्था तथा महिला समूहका अध्यक्षहरुको क्षमता अभिवृद्धि गराउने उद्देश्यले आयोजित मानवीय सेवाका लागि सकारात्मक सोंचको विकास गरौं भन्ने मूल नाराका साथ उक्त कार्यक्रम संचालन गरिएको थियो । ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्र रामबजारकी संचालिका गोमा दिदीले दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेकी थिइन । कार्यक्रमका पोखरा उप–महानगरपालिकाका प्रमुख एवं कार्यकारी अधिकृत झलकराम अधिकारीले प्रशिक्षकहरुलाई प्रमाणपत्र वितरण गर्दै घरघरबाट सकारात्मक सोंच आएमा टोल र वडा हुँदै नगरक्षेत्रमा नै सकारात्मक सोंच भई नगर विकासको सक्षम नागरिक बन्न सक्ने बताए । कार्यक्रममा वडाभित्र रहेका ३० वटा महिला समूह र २८ वटा टोल विकास संस्थाबाट करिब ७० जनाले प्रशिक्षण लिएका थिए । तालिममा रेडियो अन्नपूर्णका कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठ र नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका सदस्य सुष्मा पौडेल, ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण दमौली शाखाका राजु लगायतले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्रका संचालिका गोमा दिदी, रामबजार सोसाइटी युकेका सल्लाहकार समाजसेवी महेश गुरुङ्ग, टोल विकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष उत्तम जोशी, वडा नं.१० का वडा सचिव नवराज थापा, नेपाली काँग्रेस वडा नं.१० का सभापति विष्णुप्रसाद शर्मा, नेकपा एमालेका वडा इन्चार्ज सम्झना अधिकारी, टोल विकास संस्था महिला वडा समन्वय समितिका अध्यक्ष पवित्रा गुरुङ्ग, पारालिगल वडा कमिटी वडा नं.१० का अध्यक्ष अनिता तिमिल्सिना, रामबजार ट्याक्सी इकाई समितिका सचिव टुकबहादुर सिंजाली लगायतले तालिममा सिकेका कुराहरु आफूमा पनि लागू गरी सकारात्मक भावना राख्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा सहभागीको तर्फबाट दुचीटोल विकास संस्थाका उपाध्यक्ष मैया नेपाली, नागिन टोल विकास संस्थाका अध्यक्ष टेकबहादुर गुरुङ्गले प्रशिक्षण्मा सिकेका कुराहरु आफू पनि लागू गर्ने र टोलमा समेत लागू गर्न अग्रसर रहने बताएका थिए । तालिममा चितवनका चेपाङ्ग वस्तीमा भएको भोकमारीलाई चामल सहयोग गर्न यस वडाका टोल विकास संस्था र महिला समूहलाई करीब ३० हजार रुपैयाँ सहयोग संकलन भएको अध्यक्ष सम्मरबहादुर श्रेष्ठले गोल्डेन न्यूजलाई जानकारी दिए ।
संस्थाका उपाध्यक्ष एवं कार्यक्रम संयोजक किशोर घिमिरेले स्वागत, टोल विकास संस्था वडा समन्वय समिति वडा नं.१० का अध्यक्ष सम्मरबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको सचिव किरण प्रसाद भट्टचनले कार्यक्रम संचालन गरेका थिए ।
Post a Comment