- पोखरा १ जेठ । नेपाल प्रेस युनियनको आठौं राष्ट्रिय महाधिवेशन आगामी असार को ४ र ५ गते गर्नका लागि युनियनको कास्की शाखाले केन्द्रीय समिति समक्ष आग्रह गरेको छ । कास्की शाखाको सोमबार सम्पन्न बैठकले असार १ र २ का लागि निर्धारण गरिएको महाधिवेशन सम्पन्न गर्नका लागि सभाहलको सुविधा र स्थानीय स्तरमा गर्नुपर्ने व्यवस्थापनलाई समेत मध्यनजर गर्दै असार ४ र ५ गते महाधिवेशनको मिति तोक्न केन्द्रीय समितिलाई आग्रह गरेको हो । महाधिवेशनमा युनियनका विभिन्न जिल्ला शाखा र विभिन्न प्रतिष्ठानहरूबाट गरी करिब एक हजार प्रतिनिधि सहभागी बन्ने र करिब २५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान समेत कास्की शाखाले गरेको छ । महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने भएपछि पोखरामा हुने महाधिवेशनलाई महत्वका साथ हेरिएको छ । युनियनका कास्की शाखाका अध्यक्ष शिरोमणि बरालको अध्यक्षतामा सम्पन्न बैठकले महाधिवेशनको तयारीका लागि यहि जेठ ७ गते युनियनका सदस्यहरू को बृहत् भेला समेत गर्ने र सोही भेलाबाट विभिन्न तयारी समितिहरु गठन गर्ने निर्णय गरेको युनियनका सचिव प्रकाशचन्द्र सापकोटाले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । बैठकमा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुलीले युनियनको महाधिवेशनलाई भव्य र सभ्य बनाउने दायित्व प्रेस युनियनका सदस्यहरुकोमात्र आम पोखरेलीहरुको रहेकोले सबैको सहयोग र समर्थन आवश्यक रहेको बताए । उनले लोकतन्त्रवादी पत्रकारहरुको नेतृत्वदायी संस्थाको रुपमा स्थापित प्रेस युनियनको महाधिवेशनबाट सक्षम नेतृत्व चयन हुने विश्वास व्यक्त गर्दै संगठनको शुद्धिकरण र सुदृढिकरणमा लाग्न सबैलाई आग्रह गरेका थिए । त्यस अवसरमा पश्चिमाञ्चल संयोजक रमेश पौडेल, सल्लाहकार रविन्द्र बाँस्तोला, गण्डकी अञ्चल सचिव टंकराज अधिकारी लगायतले पोखरा महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न सबैको सहयोग र समन्वयको आवश्यकता रहेको कुरामा जोड दिएका थिए । त्यसैगरि बैठकले नेपाल पत्रकार महासंघको महाधिवेशनमा सहभागी हुन काठमाडौं जाने क्रममा दुर्घटनामा परि गम्भीर घाइते भएका युनियनका केन्द्रीय पार्षद बसन्तराज अधिकारीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दे उनको उपचारका लागि १० हजार एकसय ११ रुपैयाँ आर्थिक सहयोग उपलव्ध गराउने निर्णय गरेको छ । त्यसैगरि युनियनका पश्चिमाञ्चल संयोजक रमेश पौडेल काठमाडौंमा सम्पन्न ब्रोडकास्टिङ एशोशियसन अफ नेपालको पश्चिमाञ्चल उपाध्यक्ष पदमा निर्वाचित भएकोमा बधाई ज्ञापन गरेको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment