0



हरि पन्त 
पोखरा १५ जेठ । कास्की जिल्ला बुद्धिचाल संघको आयोजनामा बिहीबारदेखि पोखरामा अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । आठ चरणमा सम्पन्न हुने प्रतियोगितामा बिहीबार दुईचरणका खेल सम्पन्न भएका छन् ।  प्रतियोगितामा कुमुदिनी होम्सका अटल कोइराला, गण्डकी आवासीय उच्च माविका अभिनव कोइराला, लिटिलज स्टेप उच्च माविका आविष्कार काफ्ले, नोवेल एकेडेमीका प्रनिव खाँड, मर्निङग्लोरी स्कूलकी पूजा भण्डारीले दुवै चरणको खेलमा विजयी भएका छन् । उनीहरुले २÷२ अंक हासिल गरेका छन् । यस्तै २÷२ अंक प्राप्त गर्ने अन्य खेलाडीहरूमा शिशु कल्याणका सुदीप रानामगर, ग्लोवल कलिजियट उच्च माविका सुवास क्षेत्री, गोल्डेन नेचरका सागर गौतम लगायत रहेका छन् । तीन दिनसम्म संचालन हुने प्रतियोगितामा पोखराका दुई सरकारी विद्यालयसहित २८ विद्यालयका १०९ विद्यार्थी सहभागी छन् । खेल अन्तर्राष्ट्रिय बुद्धिचालको नियमानुसार संचालन गरिएको छ । प्रतियोगितामा शुक्रबार तेस्रो, चौथो, पाचौं र छैटौं चरणका खेलहरु सम्पन्न हुने संघका अध्यक्ष बाबुराम पन्तले जानकारी दिए । यसअघि प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला शिक्षा कार्यालय कास्कीका जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले बुद्धिचाल खेलले बुद्ध र केटाकेटी बीचको सम्बन्ध सुमधूर बनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसको महत्व मानव जीवनमा समेत सकारात्मक प्रभाव पार्ने बताए । संघका अध्यक्ष बाबुराम पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका केन्द्रीय महासचिव हिराकाजी महर्जन, प्याव्सन कास्कीका अध्यक्ष चिनु रानाभाट, संघका उपाध्यक्ष कर्ण गुरुङ, सचिव माधव पहारी लगायतले पोखरा प्रत्येक खेलको उर्वर भूमि रहेकाले बुद्धिचालको सम्भावना समेत प्रशस्त रहेको बताएका थिए ।

Post a Comment

 
Top