0


कास्कीको सिल्दुजुरे गाविसमा नेकपा एमाले सम्बद्ध युवा संघको समूहले प्रहरीमाथि नै आक्रमण गरेको छ । पोखराबाट सिल्दुजुरे पुगेको युवासंघका नेता, कार्यकर्ताहरूको टोलीले त्यहाँ पुगेका प्रहरी नायव निरीक्षक ओमप्रसाद पौडेल सहित पाँच जनालाई आक्रमण गरेको र त्यस आक्रमणमा परि सइ पौडेलसहित अन्य केही प्रहरी घाइते भएको वडा प्रहरी कार्यालय रामबजारका प्रमुख तथा प्रहरी निरीक्षक रविन्द्र गुरुङले जानकारी दिए । स्थानीय गंगाबहादुर रानाको होटलमा बसेर खाँदै गरेका युवाहरूबीच सामान्य विवाद भएको र सो विवाद नियन्त्रणमा लिन घटनास्थलमा प्रहरी टोली पुगेको थियो ।  त्यहाँ पुगेको प्रहरी टोलीले विवादका क्रममा खुकुरी प्रहार गर्ने निखिल केसी समेतलाई नियन्त्रणमा लिएपछि पोखराबाट युवासंघका केन्द्रीय सदस्य दर्शन लामाको नेतृत्वमा त्यहाँ पुगेको हतियार सहितको टोलीले प्रहरीमाथि नै कुटपिट गरेको प्रहरीको भनाई छ । प्रहरी निरीक्षक गुरुङले दिएको जानकारी अनुसार पोखराबाट गएको एमाले सम्वद्ध युथफोर्सको टोलीको आक्रमणमा परि प्रहरी सुरक्षाकर्मीका साथै होटल संचालक गंगाबहादुर राना समेत घाइते भएक छन् । अन्य घाइतेहरूमा कृष्ण गुरुङ, दलबहादुर राना, भक्तबहादुर मगर र द्रोण गुरुङ रहेको बताइन्छ । घाइतेहरूमध्ये सइ पौडेलको दाहिने आँखा नजिक गम्भीर चोट लागेकोले सातवटा टाँका लगाईएको र रानाको दाहिने हातमा खुकुरी प्रहारबाट चोट लागेको छ । घाइतेहरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भैरहेको छ । यसैबीच सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एमाले युथ फोर्सका नेता दर्शन लामा र श्याम बास्तोलालाई नियन्त्रणमा लिएको छ । घटनाका बारेमा अनुसन्धान गर्न उनीहरूलाई नियन्त्रणमा लिइएको र अन्यको सोत खोजी भइरहेको कास्की प्रहरीका एक अधिकृतले जानकारी दिए । कास्की प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तकुमार लामाले घटनास्थलमा भएको सबै विवरण संकलन गरी आवश्यक अनुसन्धान पूरा गरेर कार्वाही प्रक्रिया अगाडि बढाइने जानकारी दिएका छन् ।

Post a Comment

 
Top