0

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार बनेको डेढ महिना बढी बितेको छ । सरकारले पूर्णता लिन केही समय लागेकोमा सरकारले जनताका लागि महत्वपूर्ण काम गर्न भने अझै सकेको छैन । पेट्रोलियम पदार्थ, दूध, पानी लगायतका उपभोग्य वस्तुको मूल्य वृद्धि गरेपछि संसद र सडकमा समेत कोइराला नेतृत्वको सरकारको आलोचना भैरहेको छ । आलोचनाकै बीचबाट सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिलाई केही हदसम्म फिर्ता गरेको छ । एकवर्ष भित्र लोकतान्त्रिक गणतन्त्रात्मक संविधान दिने र स्थानीय निकायको निर्वाचन सम्पन्न गर्ने लगायतका केही महत्वपूर्ण लक्ष्य लिएर बनेको वर्तमान सरकारका लागि डेढ महिनाको समय अन्य सरकारका लागि जस्तै लामो होइन तर  वर्तमान सरकारका लागि काम गर्ने समय भने अत्यन्तै कम छ । यस हिसावले सरकारले आफ्नो गतिलाई तीव्रता दिनुपर्ने अहिलेको आवश्यकता हो । नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्यमा बनेको वर्तमान सरकाका बारेमा प्रतिपक्ष दलहरूबाट मात्र नभई सत्तारुढ पार्टीका नेताहरूबाट समेत असन्तुष्टि प्रकट भैरहेको छ ।
सरकारले गरेको मूल्य वृद्धिका बारेमा तथा सरकारले सार्वजनिक गरेको साझा नीति र कार्यक्रमका बारेमा समेत सत्तारुढ पार्टीभित्र आलोचना र असन्तुष्टि बढिरहेको छ । संसदमा बोल्दा वा पार्टीभित्र बोल्दा पार्टीका नेताहरूले नै सरकारले गति लिन नसकेको भनि टिप्पणी गरिरहेका छन् । विशेषगरी सरकारको नेतृत्व कांग्रेसले लिएका कारण कांग्रेसभित्र असन्तुष्टि अझ बढ्दो छ । यस्तो अवस्थामा सुशील कोइराला नेतृत्वको वर्तमान सरकारको कार्यशैलीलाई सुधार गर्दै प्रभावकारी बनाउन जरुरी छ । अन्यथा सरकारले मुलुकमा नयाँ संविधान दिने कुरा त परै जावस, स्थानीय निकायको निर्वाचन समेत हुन सक्ने अवस्था आउँदैन । यसका साथै आम नागरिकको चासोको विषयमा सरकार अझ बढी जिम्मेवार बन्नु जरुरी छ । महंगी, ढिलासुस्ती, भ्रष्टचार, नातावाद, कृपावाद जस्ता कुरालाई तल्लो तहदेखि अन्त्य गरी आम नागरिकलाई शान्ति र सुशासनको अनुभूति दिन सकेमात्रै सरकारका बारेमा सकारात्मक टिप्पणी आउन सक्छन । यसो भएमा देशमा शान्ति र स्थिरता संगै विकास निर्माणले पनि गति पाउने भएकोले विशेषगरी सरकारको नेतृत्व गरेको पार्टी नेपाली कांग्रेसका शीर्ष नेताहरू समेतले सरकारको संचालन सही ढङ्गबाट हुने व्यवस्था मिलाउन र कांग्रेसका अन्य नेता र कार्यकर्तालाई मात्र नभई आम नागरिकलाई समेत आश्वस्त पार्ने किसिमले काम गर्नु जरुरी छ ।

Post a Comment

 
Top