0


गंगाधर पराजुली
घटना वि.सं.२०६० असोजको हो । अविरल वर्षासंगै आएको हुरी बतासका कारण पोखरा उपमहानगरपालिका–१३ कुँडहरस्थित भद्रकाली मावि संचालन भैरहेको विद्यालय भवन भत्किन पुग्यो । जसका कारण विद्यालयको निमावि तहमा अध्यापनरत शिक्षिका हुकुमी गुरुङ र विद्यार्थी आश्मावानु खातुनको विद्यालय भत्किएर छानो र पर्खालले पुरिएर मृत्यु भयो । उक्त घटनामा अन्य करिब १२ जना विद्यार्थी घाइते भए । जसमध्ये केही अहिलेसम्म पनि अपाङ्ग र अशक्त अवस्थामा छन् ।
जीर्ण विद्यालय भवन, त्यसमाथि हावाहुरी संगैको भारी वर्षाका कारण भएको दर्दनाक घटनाले स्थानीय विद्यार्थी र अभिभावककोमात्र नभई आम नेपाली समेत चिन्तित बने । त्यसका लागि सबैतिरबाट सहयोगको अपेक्षा समेत गरियो । सहयोग खोज्नेक्रममा विद्यालय प्राङ्गणमा वाचन शिरोमणि पं. नारायणप्रसाद पोखरेलको वाचकत्वमा  महायज्ञ समेत संचालन गरियो र एक करोड रुपैयाँ बढी संकलन भयो । सो रकमबाट विद्यालयको एउटा नयाँ भवन निर्माण गरिएपनि त्यो अपुग थियो ।
सहयोगी अर्थात दाता खोज्नेक्रममा स्थानीय अभिभावक र शिक्षासेवी तथा भवन भत्किएपछि भएको पीडादायी दुर्घटनाबाट दिल दुखेकाहरूले भारतीय राजदूतावाससंग समेत सम्पर्क गरी नयाँ भवन निर्माणका लागि सहयोगको आग्रह गरे । विद्यालयको आसपासको क्षेत्र अर्थात स्थानीय सर्वसाधारणहरूमा भारतीय भूपू सैनिकहरू र तिनका  परिवारको संख्या पनि उल्लेखनीय थियो । जसका कारण तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष वजिरमान श्रेष्ठ समेतको पहल र तत्कालीन सभामुख तारानाथ रानाभाट समेतको समन्वयबाट भारत सरकारले त्यहाँ नयाँ विद्यालय भवन निर्माणका लागि सहयोग गर्ने निधो ग¥यो । तत्कालीन समयमा भारत सरकारले दुई करोड रुपैयाँ बढीको आर्थिक सहयोग उपलव्ध गराएकोले कक्षाकोठा, कम्प्युटरकोठा सहितको २१ कोठे सुविधा सम्पन्न पक्की भवन निर्माण भयो । हाल त्यस भवनमा विहानको समयमा भद्रकाली उच्च मावि तथा बहुमुखी क्याम्पस र दिवा समयमा भद्रकाली मावि संचालन हुँदै आइरहेको छ । जहाँ एकहजार बढी विद्यार्थी अध्ययनरत छन् ।
भारत सरकारले नेपालमा विभिन्न ग्रामीण र दुर्गम क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो, पुस्तकालय लगायका क्षेत्रमा महत्वपूर्ण सहयोग उपलव्ध गराउँदै आएको भएपनि पोखरा जस्तो विकसित सहरमा उपलव्ध भएको उक्त सहयोग झनै महत्वपूर्ण मानिन्छ । पहुँचको आधारमा भारत सरकारले नेपालका विभिन्न ठाउँमा सहयोग गरेको भन्नेहरुका लागि एउटा गतिलो उदाहरण बनेको छ भद्रकाली उमाविको भवन निर्माणका लागि झण्डै एक दशक अघि गरिएको आर्थिक सहयोग ।
स्थानीय शिक्षासेवी एवं भद्रकाली उच्च मावि व्यवस्थापन समिति अध्यक्ष विश्व सिग्देलका अनुसार भारत सरकारले दुई करोड रुपैयाँ उपलव्ध गराएको भएपनि पाँच करोड रुर्पैयाँ जतिको काम भएको बताए । तत्कालीन समयमा भारत सरकारको सहयोगमा नेपालभर संचालन गरिएका धेरै योजनामध्ये भद्रकाली भवन निर्माण योजना स्थानीय उपभोक्ताहरूकै पहलमा संचालन भएकोले रकमको सदुपयोग भएको उनको विश्वास छ । यसका साथै तत्कालीन अवस्थामा नेकपा माओवादीले संचालन गरेको सशस्त्र युद्धका कारण कतिपय योजना पूरा हुन नसकेको, कतिपय योजनामा आर्थिक अनियमितता भएको र कतिपय योजना ढिलो सम्पन्न भएपनि उद्घाटन गर्न समेत नदिएको स्मरण गर्दै शिक्षासेवी सिग्देलले भद्रकालीको भवन निर्माणले दुई देशको सम्बन्धलाई   जनस्तरसम्म पु¥याउन सहयोग पुगेको बताए । उनका अनुसार स्थानीय व्यक्ति भएका कारण भवन निर्माणमा चासो राखेकोमात्र नभई पछिल्लो समयमा व्यवस्थापन समितिको अध्यक्ष रहेकोले पटक–पटक भारतीय अधिकारीहरू संग भेटघाट भएपनि त्यहाँ कुनै किसिमको स्वार्थ रहेको पाइएन । सोही विद्यालयका प्रधानाध्यापक घनश्याम रिजालले पनि नेपाल सरकारले देशको विभिन्न स्थानमा रहेका विद्यालयका लागि नयाँ भवन निर्माण गर्न नसकेको र पुरानो भवन समेत मर्मत गर्न नसकेको अवस्थामा सम्भावित प्राकृतिक विपत्ति र दुर्घटनाबाट बच्नका लागि भारतीय पक्षले गरेको सहयोग उल्लेखनीय रहेको बताए ।
नेपालमा अहिले पनि विभिन्न विकास निर्माणका योजना तथा पूर्वाधार निर्माणका लागि गरिने खर्चमा आर्थिक अनियमितता र ढिलासुस्ती हुने गरेको चर्चा चलिरहँदा भद्रकाली उच्च माविको भवन भने सिधै स्थानीयस्तरबाट संचालन गरिएकोले अप्ठ्यारो नभएको बताइन्छ । यत्तिको भवन बनाउन करिब पाँचकरोड रुपैयाँ खर्च हुने थियो तर हामीले भारत सरकारको दुई करोड रुपैयाँमा करिब ५० लाख  थपेर साढे दुइ करोडमा बहु उपयोगी भवन निर्माण गर्न सक्यौं–क्याम्पस प्रमुख किशोरदत्त बरालले भने । वि.सं.२००८ सालमा स्थापना भएको भद्रकाली स्कूलको पुनःनिर्माण २०४१ सालतिर भएकोमा त्यसको दुई दशकपछि पीडादायी दुर्घटना हुन पुगेको भएपनि अब भने भुकम्प प्रतिरोधात्मक क्षमताको पक्की भवन बनेपछि स्थानीय अभिभावक समेत हर्षित छन् ।
भद्रकाली उच्च माविको मात्र कुरा नभएर भारत सरकारले पोखरा क्षेत्रमा शैक्षिक विकासका लागि महत्वपूर्ण सहयोग गरिरहेको छ । पोखरामा संचालित नेपाल–भारत मैत्री विद्यालयमात्र नभएर विभिन्न मावि तथा उच्च मावि र क्याम्पसको पूर्वाधार विकासमा समेत भारतको सहयोग महत्वपूर्ण छ । यसक्रममा पोखराको पहिलो पव्लिक क्याम्पस जनप्रिय बहुमुखी क्याम्पसको विकास र विस्तारमा समेत भारतको सहयोगलाई अत्यन्त सकारात्मक रुपमा हेरिएको छ । भारत सरकारको आर्थिक सहयोग र कास्की जिविसको प्राविधिक सहयोगमा २०६५ भदौमा शिलान्यास गरिएको क्याम्पस भवनको निर्माण २०६६ को अन्त्यमा सम्पन्न भएको थियो ।
दुई करोड ६२ लाख ७४ हजार रुपैयाँ भारत सरकारले उपलव्ध गराउने गरी सम्झौता भएपनि भवनको निर्माण पूरा हुँदा एक करोड ८० लाख रुपैयाँमात्र खर्च भएको जनप्रिय बहुमुखी क्याम्पसका प्रमुख विरञ्जी गौतमको भनाई छ । तत्कालीन क्याम्पस प्रमुख सविता वैद्यको पालामा सहयोग सम्झौतामा हस्ताक्षर गरिएको र कास्की जिविसले त्यसका अनुगमन गरेको  भएपनि क्याम्पसको भवन बाहेक अन्य सुविधा भने हाल थप गरिएको छैन । क्याम्पस प्रमुख गौतमका अनुसार एकहजार छसय वर्गफिट क्षेत्रफलको सभाहल सहित विभागीय प्रमुखहरूको कार्यकक्ष रहेको उक्त क्याम्पस प्रशासनिक भवनमा १६ कोठा रहेका छन् । त्यसका लागि आवश्यक पर्ने फर्निचर एवं अन्य सुविधा समेत भारतीय सरकारको सहयोगमा पूर्व सम्झौता अनुसार नै उपलव्ध हुने विश्वास स्थानीय अभिभावकले राखेको भएपनि क्याम्पसमा आन्तरिक द्वन्द चलेका कारण सम्झौता अनुसार काम हुन नसकेको अनुमान गरिएको छ ।
तत्कालीन भारतीय राजदूत रोश सूदले शिलान्यास गरेको उक्त भवनका कारण क्याम्पसले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा फड्को मारेको छ । सोही भवन बनेकै कारण विश्वविद्यालय अनुदान आयोगबाट अनुदान पाउने क्याम्पसको रुपमा जनप्रिय बहुमुखी क्याम्पस छनौटमा परेको छ भने नेपालमा पव्लिक क्याम्पसमध्ये दोस्रो ठूलो क्याम्पसको रुपमा स्थापित छ । यसका साथै अन्तर्राष्ट्रिय स्तरको गुण मापन तथा प्रंत्यायन प्रमाणपत्र प्राप्त थरेकोले पनि क्याम्पसको छवि अन्तर्राष्ट्रिय स्तरमा पुगेको छ ।

Post a Comment

 
Top