0


    काठमाडौँ, २३ चैत । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले काँग्रेस सरकारमा गएपनि जनताबाट टाढा नभएको बताउनुभएको छ ।   नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज काँग्रेस मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपसभापति पौडेलले भन्नुभयो, “पार्टी सरकारमा गएपछि जनताबाट टाढा हुन्छ भन्ने आरोपलाई हामीले प्रशिक्षणका माध्यमबाट चिर्न सफल भएका छौं ।”   प्रतिष्ठानले बिपी जन्मशताब्दीका सन्दर्भमा थालेको मेची–महाकाली जागरण अभियानअन्तर्गत सम्पन्न पहिलो चरणको प्रशिक्षण कार्यक्रमबारे जानकारी दिँदै उपसभापति पौडेलले भन्नुभयो, “हाम्रो यस अभियानले स्थानीय निर्वाचन घोषणाका लागि वातावरण बनाउनुका साथै संविधान निर्माणमा समेत योगदान पुग्नेछ ।” उहाँले काँग्रेसको इतिहास एवम् सैद्धान्तिक आधार, पार्टी सङ्गठन निर्माण एवम् सुदृढीकरण र निर्वाचन अभियान एवम् पार्टी कार्यकर्ता परिचालनका विषयलाई समेटेर अभियान सुरु गरिएको जानकारी दिनुभयो ।  प्रतिष्ठानले बिपी जन्मशताब्दीका सन्दर्भमा थालेको यस अभियानले नेपाली समाजमा विद्यमान आर्थिक, सामाजिक र राजनीतिक समस्याको समाधान प्रजातान्त्रिक समाजवादको बाटोबाट खोज्न मद्दत पुग्ने दाबी गरेको छ ।  पहिलो चरणको कार्यक्रमअन्तर्गत महाकाली, सेती, कर्णाली, भेरी, राप्ती र लुम्बिनीमा अञ्चलस्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको र दोस्रो चरणको कार्यक्रम आगामी वैशाख ७ गते झापाको विर्तामोडबाट सुरु हुने उपसभापति पौडेलले जानकारी दिनुभयो ।
    तेस्रो चरणको प्रशिक्षण कार्यक्रम वैशाख २३ गतेदेखि धौलागिरिको बागलुङबाट सुरु भई वैशाख ३० गते काठमाडौँमा पुगेर सम्पन्न हुने बताइएको छ । रासस

Post a Comment

 
Top