गंगाधर पराजुली
नेपाल र भारतबीच सन् १०५१ मा सहयोग सम्बन्ध स्थापित भएपछि भारतले नेपालको विभिन्न क्षेत्रमा महत्वपूर्ण सहयोग गर्दै आइरहेको छ । नेपालको राष्ट्रिय विकासमा टेवा पु¥याउने उद्देश्यले भारतीय सरकारले विभिन्न आर्थिक सहायताका अतिरिक्त शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास एवं जनस्तरमा सम्बन्ध सुदृढ पार्न विभिन्न आर्थिक एवं प्राविधिक सहायताहरू गर्दै आएको छ । नेपालको सबैजसो क्षेत्रमा गरिएका सहयोग र विभिन्न परियोजनाहरू मध्ये अघिल्लो वर्ष अर्थात सन् २०१३ मा मात्रै ३५ वटा ठूला र मध्यमस्तरका तथा चारसय २५ वटा साना आयोजनाका लागि भारतले सहयोग गरेको थियो । साना विकास आयोजनाका लागि दुई देशबीच भएको सम्झौतालाई आधार मानिएको छ । सन् २००३ मा गरिएको सम्झौता पटक–पटक नविकरण हुँदै अगस्त २०१४ सम्म कायम छ । यस्ता साना आयोजनाका लागि पाँच करोड रुपैयाँ भन्दा कमको सहयोग भारतीय पक्षले गर्ने र त्यसको संचालन स्थानीय निकायले गर्ने किसिमले हुने गरेको छ ।
विभिन्न क्षेत्रमा भारतले गरेको सहयोगलाई आधार मान्ने हाृ भने शिक्षा र स्वास्थ्य, खानेपानी, बाटोघाटो आदि र भारतीय सेनामा काम गरेका भूपू सैनिक तथा तिनका परिवार लाभांवित हुने विभिन्न कामहरू पर्दछन् । भारतले नेपालको शिक्षा क्षेत्रमा गरेको सहयोग उल्लेखनीय मानिन्छ । प्रावि तहको शिक्षादेखि विश्वविद्यालय तहसम्मको शिक्षालाई स्तरीय बनाउन र त्यसका लागि पूर्वाधार जुटाउन भारतको सहयोग उल्लेखनीय छ । जसअनुसार नेपालको विभिन्न जिल्लामा २ सय २० वटा स्कूल परियोजनाका लागि करिब चार अर्व ९० करोड रुपैयाँ सहयोग प्राप्त भएको छ ।
यसैगरी नेपालका पोलिटेक्निकल शिक्षाका लागि पनि भारतीय सहयोग महत्वपूर्ण छ । मनमोहन मेमोरियल पोलिटेक्निक स्थापना गरी त्यसबाट एकैपटकमा ५ सय जनालाई इलेक्ट्रिकल्स, इलोक्ट्रोनिक्स र मेकानिकल इन्जिनियरिङ्ग विषयमा पढ्ने व्यवस्था मिलाउनु तथा अन्य अतिरिक्त कामका लागि ४० करोड रुपैयाँ भारत सरकारले सहयोग गरेको थियो भने हेटौडामा पोलिटेक्निक स्थापना गर्नका लागि सन् २०१० मा सम्झौता भएपछि प्रक्रिया अघि बढेको छ । त्यसका लागि पनि भारत सरकारले ४० करोड उपलव्ध गराउने भएको छ ।
शैक्षिक क्षेत्रका लागि गरिएको अर्को सहयोग अन्तर्गत काठमाडौंमा साइन्स लर्निङ सेन्टर बन्ने भएको छ । करिब २५ करोड रुपैयाँको लागतमा निर्माण हुने उक्त सेन्टर विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) संग सम्झौता भएपछि कार्यान्वयन तर्फ अघि बढेको हो । यसैगरी स्वास्थ्य क्षेत्रमा पनि भारत सरकारको सहयोग महत्वपूर्ण मानिन्छ । काठमाडौंमा सन् १९८५ मा निर्माण पूरा भएको वीर अस्पतालको पाँचतले भवनमा अहिले दुईहजार पाँचसय बढी बिरामीले बहिररङ्ग सेवा पाउने गरेका छन् । यसका साथै अत्याधुनिक उपचार कक्ष र विभिन्न उपकरण रहेको त्यस अस्पतालमा भारतीय चिकित्कसले समेत केही समय सेवा दिएका थिए ।
वीर अस्पताल नजिकै भारत–नेपाल मैत्री इमरजेन्सी एण्ड ट्राउमट सेन्टर पनि भारत सरकारको सहयोगमा निर्माण भएको छ । नेपालद सरकारको आयोजनामा सन् २००३ मा भएको सम्झौता अनुसार बनेको ट्राउमा सेन्टरमा अत्याधुनिक ृउपकरण रहने र त्यसको कूल लागत एक अर्व ६० करोड रहेको बताइन्छ । स्वास्थ्य क्षेत्रमा भएको अर्को सहयोग धरानमा स्थापित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि हो । करिब दुई अर्व रुपैयाँको लागतमा भारतीय सहयोगमा निर्माण गरिएको उक्त अस्पतालबाट नेपालको विशेष गरी पूर्वाञ्चल क्षेत्रका वासिन्दाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।
सोही संस्थाले एमबीबीएसको पढाइ समेत संचालन गर्दै आएको छ । शुरुमा संस्थाको भवन निर्माण गरि नेपाल सरकारलाई हस्तान्तरण गरिएकोमा सन् २०१० मा भारत सरकारको करिब ११ करोड रुपैयाँको सहयोगमा कलेज भवन समेत निर्माण भएको छ । त्यस संस्था संचालनका लागि भारत सरकारले एक करोड ६० लाख रुपैयाँ वार्षिकरुपमा उपलव्ध गराउँदै आएको छ ।
यसैगरी विभिन्न स्वास्थ्य चौकी, नर्सिङ्ग क्याम्पस, मातृशिशु स्वास्थ्य केन्द्र, आँखा अस्पताल लगायत विभिन्न साना परियोजना अन्तर्गत २३ वटा अस्पतालकोृ पूर्वाधार विकासका लागि भारत सरकारले ५४ करोड रुपैयाँ सहयोग गरेको छ । ती योजना नेपालको १७ वटा जिल्लामा संचालित छन् । नेपालको विकट र दुर्गम क्षेत्रका वासिन्दालाई सुविधा पुगोस् भन्ने उद्देश्यले सन् १९९४ देखि भारतले नेपालमा एम्वुलेन्स सहयोग गर्दै आएको र हाल नेपालका ७० वटा जिल्लामा तीनसय ८२ वटा एम्वुलेन्स भारत सरकारको सहयोगमा संचालनमा रहेका छन् । शिक्षक, विद्यार्थी तथा स्वास्थ्यकर्मीहरूको सुविधाका लागि विभिन्न शैक्षिक तथा स्वास्थ्य संथामा ७४ वटा स्कूल बसहरू समेत भारतले उवलव्ध गराएको छ । नेपालमा अन्धोपन निवारणका लागि पनि भारतको सहयोग महत्वपूर्ण छ । सोही कुरालाई मध्यनजर गरी भारत सरकारको सहयोगमा नेपाल नेत्रज्योति संघ मार्फत देशका ५२ वटा जिल्लामा मोतियाविन्दु शिविर स्रचालन गरिएको र एकलाख बढी बिरामीलाई सो सेवा प्रदान गरिएको छ । सन् २००१ देखि २०१२ सम्म संचालन गरिएका स्वास्थ्य शिविरमार्फत विरामीहरूको आँखाको रोग पहिचान गर्ने र उपचार गर्ने काम भएको थियो । आम सर्वसाधारणलाई मात्र नभएर विभिन्न विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरू आँखा जाँच गर्ने र चश्मा वितरण गर्ने कार्यक्रम अन्तर्गत नेपालका विकट ठाउँका विद्यालयमा पुगेर ९ हजार जनालाई निल्शुल्क चश्मा वितरण गरिएको छ । यसका लागि तीन करोड ७१ लाख रुपैयाँ नेपाल नेत्र ज्योति संघलाई सहयोग प्राप्त भएको थियो । स्वास्थ्य क्षेत्रमा गर्ने सहयोग अन्तर्गत यसवर्ष नेपालका विभिन्न ११ वटा जिल्लामा मधुमेह रोगको परीक्षण एवं निःशुल्क औषधि वितरण कार्यक्रम समेत अघि बढेको छ । सिन्धुपाल्चोक, झापा, पर्सा, तनहुँ, चितवन, नवलपरासी, मुस्ताङ, सोलुखुम्वु, सुर्खेत र कञ्चनपुर जिल्लामा ३० हजार आठसय जनाको मधुमेह जाँच गर्ने र १० हजार आठसय जनालाई निःशुल्क औषधि वितरण गर्ने लक्ष्य रहेको छ । त्यस कामका लगि भारतले गान्धी ग्लोवल फेम्ली मार्फत सहयोग गरेको नेपाल भारत मानव विकास तथा मैत्री संघका अध्यक्ष सूर्यप्रसाद भुषालले जानकारी दिनुभयो ।
नेपालमा टेलिकम्युनिकेशन सुविधाका लागि पनि भारतले एकअर्व १८ करोड रुपैयाँको सहयोग गरेको छ । पूर्व पश्चिम राजमार्गमा ९ सय चार किमि फाइवर केवल लगाउन तथा विभिन्न ८० वटा स्टेशनमा उपकरण जडान गर्न भारतले सहयोग गरेको हो ।
भारतले नेपालमा सडक र पुलहरूको निर्माणमा पनि त्यत्तिकै योगदान दिएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मेची–महेन्द्र नगरसम्मको एकहजार २४ किमि सडक मध्ये ८ सय ७ किमि सडक भारत सरकारको सहयोगमा बनेको हो । सो राजमार्गको कोहलपुर–महाकाली खण्डमा मात्रै भारतीय सहयोगमा २२ वटा पुल बनेका छन् । सोही क्षेत्रमा पछिल्लो समयमा करिब ३३ करोड रुपैयाँको लागतमा ८ वटा गाविस र राजमार्गलाई जोड्ने उद्देश्यले सडक र पुलको निर्माण भइरहेको छ । त्यसका लागि ५२ करोड रुपैयाँ भन्दा बढी सहयोग भारतले दिएको छ । यसैगरी काठमाडौंको दक्षिणकालीबाट मकवानपुरको कुलेखानी एवं रौतहटको गौरबाट सुकदेवचोक सम्मको सडक सुधारका लागि २५ करोड रुपैयाँ भारतले सहयोग गरेको छ । तराइका विभिन्न जिल्लामा सडक सुविधा पु¥याउन पनि भारतले उल्लेखनीय सहयोग गरेको छ । जसअनुसार तराइका विभिन्न जिल्लालाई जोड्ने हुलाकी सडक समेत गरी १९ वटा सडकका लागि १ अर्व १० करोड रुपैयाँ खर्च भएको थियो । नेपालको विद्युतीकरणमा पनि भारतले सहयोग गर्दै आएको छ । जसअजुसार पछिल्लो पटक नेपालका २५ जिल्लामा विद्युतीकरणका लागि १६ करोड र १५ वटा गाविसमा सौर्य उर्जाका लागि २४ करोड नेपालले पाएको छ । यसका साथै थप पाँच जिल्लामा विद्युतीकरणका लागि १० करोड रुपैयाँ उपलव्ध गराउने केहीवर्ष अघि सम्झौता भएको थियो भने सोलुखुम्वुको लघु जलविद्युत योजनाको सुधारका लागि साढे चार करोेड रुपैयाँ सहयोग गरेको छ । यसैगरी भारतले नेपालमा भारतीय रेल सेवालाई विस्तार गर्नका लागि तथा बाढी तथा नदी नियन्त्रणका लागि समेत करोडौं रुपेयाँ सहयोग गरेको छ । पशुपति क्षेत्र विकास कोष अन्तर्गत पुशपति क्षेत्रमा धर्मशाला बनाउन २५ करोड, वीरगंजमा एकहजार जना क्षमताको नेपाल भारत मैत्री सभागृह निर्माणका लागि करिब ४० करोड रुपैयाँ पनि सहयोग गर्दैछ ।
नेपालको सरकारी कर्मचारीको क्षमता विस्तारका लागि सन् २००७ देखि शुरु गरिएको अध्ययन, भ्रमण तथा तालिम कार्यक्रममा ८ करोड रुपैयाँ खर्च भएको र पाँचसय जनाले सेवा पाएको बताइन्छ । नेपालबाट भारतीय सेनामा काम गरेको १ लाख २५ हजार पूर्व सनिक र हाल कार्यरत ४० हजार सैनिक र तिनका परिवारको कल्याणका लागि पनि भारतले विभिन्न कल्याणकारी योजना संचालन गर्दै आएको छ । पूर्व संनिकहरूको पेन्सनका लागिमात्र पनि दुई अर्व रुपैयाँ बर्षेनी नेपाल भित्रिने गरेको छ ।
यसरी विभिन्न क्षेत्रमा विभिन्न किसिमको सहयोग गर्दै आएको भारत र नेपालको बीचमा आगामी दिनमा न्यूनतम् साझा एजेण्डा तयार गरी अघि बढ्नु पर्ने, दुई देशबीचको सम्बन्ध सरकारीस्तरमा मात्र नभई जनस्तरमा समेत पु¥याउनु अहिलेको आवश्यकता हो ।
Post a Comment