0

कास्कीको हेम्जामा पाँचौ आलु महोत्सव सुरु भएको छ । आलु गाउँको रुपमा परिचित हेम्जामा संचालन भइरहेको महोत्सवमा पनि पोखरा र आसपासमा हुने अन्य महोत्सवको जस्तै आम सर्वसाधारणको आकर्षण देखिएको छ । महोत्सवमा पुगेका दर्शकहरुका लागि मनोरञ्जन प्रदान गर्ने उद्देश्यले विभिन्न खाले पिङ्ग र साँस्कृतिक कार्यक्रम पनि अन्य महोत्सवमा संचालनमा छन् । विशेष गरि आलु र आलुका परिकारको बेचविखन गर्ने र हेम्जा गाउँको प्रबद्र्धन गर्ने उद्देश्यले संचालित महोत्सव सफल पार्न स्थानीय बासिन्दाहरु सक्रियता पूर्वक लागिरहेका छन् । महोसत्वको उद्घाटन समारोहमा सहभागी नेपाल सरकारका मन्त्री कर्णबहादुर थापाले नेपालमा निर्बाहमुखी कृषि प्रणाली कृषिलाई व्यासायीकरण गर्नुपर्ने र त्यस्तो हुन नसके देशको विकास संभव नहुने कुरामा जोड दिएका थिए । हुनत अन्यले पनि नेपालको कृषि प्रणालीमा सुधारको खाँचो औल्याईरहेका छन् । यस्तो अवस्थामा देशका विभिन्न ठाउँमा भने मेला र महोत्सवको संचालन लक्ष्य पूरा गर्ने किसिमले हुनु आवश्यक छ ।
मेला र महोत्सव भन्ने वित्तिकै नाच्ने गाउँने, पिङ्ग खेल्ने, विभिन्न किसिमका जुवा खेल्ने र तिनैमा आमसर्वसाधारणलाई आकर्षित गरी पैसा कमाउँने प्रवृत्तिको भने अन्त्य हुनु जरूरी छ । पोखरामा महोत्सव आयोजना गर्नेहरुको संख्या बढ्दै जाँदा विभिन्न विकृतिहरु समेत नदेखिएका होइनन् । वि.सं. २०५२ मा पहिलो पटक पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको पोखरा महोत्सवको परिवर्तित रुपमा अहिले विभिन्न नाममा महोत्वसवको आयोजना गरिन थालेको हो । वर्तमान अवस्थामा पनि पोखरा उद्योग वाणिज्य संघले राष्टिूय औद्योगिक व्यापार मेला, हस्तकला मेला, पुष्प प्रदर्शनी आदिका साथै पश्मिाञ्चल होटल संघले गर्ने फेवा नववर्ष महोत्सव, रेवान पोखराले गर्ने अंग्रेजी नयाँ वर्षको सडक महोत्सव, फ्लोरिकल्चर एशोसियसनले गर्ने पुष्प व्यापार मेला, लेखनाथ उद्योग वाणिज्य संघले गर्ने लेखनाथ महोत्सव, पोखरा यूनाईटेड क्लबले गर्ने पोखरा महोत्सवका साथै सिटी रेवान, लोकदोहरी गीत प्रतिष्ठान जस्ता संस्थाले गर्ने मेला र महोत्सवको  स्वरुप र प्रकृति अनि ती मेला र महोत्वसवमा पुग्ने दर्शक र आयोजकको मुख्य लक्ष्य करिब उस्तै–उस्तै छ । यस्तो अवस्थामा आयोजकहरुले आफ्नो महोत्सवलाई विशिष्टीकरण गर्दै जानुपर्छ । अन्यथाः जूनसुकै महोत्सवमा पनि जाने दर्शकको संख्या गीत सुन्ने,पिङ खेल्ने र रमाईलो गर्ने तर्फ नै केन्द्रित हुन्छ । तसर्थ, आयोजकहरुले महोत्सवलाई व्यापारीकरण गर्ने र अर्थोपार्जन गर्ने तर्फमात्र केन्द्रित निश्चित समूहलाई आर्थिकमात्र नभई अन्य किसिमको फाईदा दिन सक्ने किसिमले संचालन गर्नु अहिलेको आवश्यकता हो । यसतर्फ सबैको ध्यान पुगोस् ।

Post a Comment

 
Top