गंगाधर पराजुली
पोखरा १२ बैशाख
कास्कीको सिल्दुजुरे गा.वि.स. वडा नं. ४ मा निर्माणाधिन माथिल्लो मादि जलविद्युत आयोजनामा पहिरो जाँदा सुरुङ्ग भित्र थुनिएका १६ जना मध्ये १३ जना सम्पर्कमा आएको र तीन जनाको अवस्था अज्ञात रहेको छ । सुरुङ्ग भित्र काम गरिरहेको बेला माथिबाट आएको पहिरोले सुरुङ्ग पुरिएपछि उनीहरुको उद्धार कार्य घण्टौं सम्म चलेको थियो । दिउँसो १ः३० बजे पहिरो आएपछि सुरुङ्ग भित्र थुनिएका मजदुरहरुलाई बाहिर निकाल्नको लागि समय लाग्ने भएकोले पाईपबाट सुरुङ्ग भित्र अक्सीजन पठाएर श्वासप्रश्वासको लागि सहज बनाईएको थियो । ८० मिटर लामो सुरुङ्गमा थुनिएका मजदुरहरुलाई निकाल्न नेपाली सेना, नेपाल प्रहरी र स्थानिय वासिन्दाहरु दिनभर जसो खटिएका थिए । कास्की प्रहरीले राती १०ः०० बजे दिएको जानकारी अनुसार सुरुङ्ग भित्र थुनिएका १६ जनाको उद्धारको लागि करिब १ सयजना उद्धारकर्मीहरु खटिएको भएपनि कामदारलाई कति बेला सुरङ्ग बाहिर निकाल्न सकिएला भन्ने स्पष्ट छैन । सुरुङ्गको मुखमा ठूलो ढुङ्गा आएकोले पनि उद्धारमा कठिनाई परेको प्रहरीले जनाएको छ । पहिरोले सुरुङ्गको बाहिरी भागमा क्षति पु¥याएको भए पनि भित्री भागमा क्षति नपुगेकोले मजदुरहरु बाँच्न सफल भएको बताईन्छ । सबै मजदुरको उद्धार कार्य शुक्रबार रातीसम्म पुराहुने बताएको छ । स्थानिय धनप्रसाद बरालले गोल्डेन न्यूज दैनिकलाई साँझ पख दिएको जानकारी अनुसार सुरुङ्ग भित्र करिब २० जना मजदुर काम गरिरहेको अनुमान गरिएको भए पनि पछि १६ जना मजदुर काम गरिरहेको र त्यस मध्ये १३ जनाको उद्धार भएको र अरुको उद्धार कार्य जारी रहेको छ । उद्धार गरिएका मध्ये १ जना चिनियाँ नागरिक र अरु सबै नेपाली हुन् । आगामी चैत्र मसान्त भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको २५ मेगावाट क्षमताको उक्त आयोजनाको करिब ५५ प्रतिशत काम पुरा भएको बताएको छ । पोखराबाट २५ कि.मी.को दुरीमा कास्कीको क्षेत्र नं. १ मा पर्ने उक्त आयोजनाको निर्माण कार्य २०६९ पुषबाट सुरु भएको हो । चाईना थ्रि गर्जेजको ८० प्रतिशत र आयोजनाका अध्यक्ष विजय मल्लको २० प्रतिशत लगानीमा अर्थात करिब ५ अर्ब २८ करोड रुपैयाको लागतमा निर्माण कार्य भै रहेको छ ।
Post a Comment