0
एमाले अध्यक्षको विश्लेषणमा नेपाली समाजको चरित्र
१३ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले नेपाली समाजमा सामन्तवाद समाप्त भएको बताएका छन् । अबको नेपाली समाजमा श्रमिक र पुँजीपति वर्गवीच प्रधान अन्तरविरोध रहेको खनालको विश्लेषण छ । विगतमा नेपालका कम्युनिष्टहरुले ‘सर्वहारा वर्ग’ भन्दै आएकोमा अब सर्वहारा वर्गको साटो श्रमिक वर्ग भन्नुपर्ने खनालको तर्क छ । त्यसैगरी पुँजीपतिलाई पनि दलाल वा नोकरशाही नभनेर पुँजीपति मात्रै भन्दा पुग्ने उनले बताएका छन् । एमाले अध्यक्ष खनालले ‘जग्गा जसको जोत, उसको पोत’ भन्ने नाराको पनि औचित्य सकिएको बताएका छन् । विहीबार राजधानीमा आयोजित आजको नेपाली समाज र अबको कम्युनिष्ट आन्दोलन विषय विचार गोष्ठीमा अध्यक्ष खनालले गरेको नेपाली समाजको विश्लेषणको सार खनालकै शब्दमा : हाम्रो पार्टी नेकपा एमालेले नवौं महाधिवेशनको सिलसिलामा बहसलाई खुल्ला गरेको छ । त्यसैले अब अत्यन्तै अनुशासित र व्यवस्थित ढंगले बहसलाई अगाडि बढाउनुपर्ने आवश्यकता छ । यो बहसमा सहभागी हुनका लागि म सबैमा हार्दिक आग्रह गर्दछु । नेपालको कम्युनिष्ट आन्दोलन आफ्नो विकासको ६५ औं वर्षमा पुगेको छ । हामीले आजसम्म ६५ वर्षको अवधिमा जेजस्ता कामहरु गरेका छौं, जे-जे अनुभव हासिल गरेका छौं, त्यसका आधारमा हामीले नेपाली समाजका बारेमा गहिराइबाट अध्ययन गर्नुपर्नेछ । अहिले राष्ट्रिय अन्तरराष्ट्रिय परिस्थितिको जुन ढंगले विकास भइरहेको छ, त्यसका बारेमा अझ गहिराइबाट अध्ययन गर्नुपर्नेछ । नेपाली समाजका अन्तरविरोधहरुका बारेमा हामीले अझ गहिरिएर अध्ययन गर्नुपर्नेछ ।

Post a Comment

 
Top