0
१२ चैत, काठमाडौं । साथीभाइसँग गफिँदै सुतेका  मलेसियामा कार्यरत लोकप्रसाद राई बुधबार बिहान हातले मोबाइल फोन समातेकै अवस्थामा मृत भेटिए । स्थानीय अस्पतालले पोस्टमार्टम प्रतिवेदनमा हृदयघातले मृत्यु भएको उल्लेख गर्‍यो । झापा तोपगाछीका ३५ वर्षका उनी मलेसियामा यसरी निद्रामै मृत्युवरण गर्ने एक्ला नेपाली कामदार होइनन् । राति सुत्दासम्म हाँसीखुसी देखिए पनि बिहान संसार नदेख्नेहरु सातामा तीन जनासम्म पुग्छन् । यो दक्षिणपूर्वी मुलुकमा करिब ७ लाख नेपाली श्रमिक छन् । पछिल्लो एक दशकमा करिब अढाई हजार नेपालीले यहाँ ज्यान गुमाइसकेका छन् । ‘राईजी जस्तै सुतेको सुत्यै हुने घटना बरोबर भइरहन्छ,’ टेकबहादुर राना भन्छन्, ‘हामीलाई लास नेपाल पठाउन नै डेढ लाख रुपैयाँको जोहो गर्नुपर्छ ।’ ‘यो अस्वाभाविक मृत्यु हो, केही यस्तै प्रकृतिको मृत्युको कारण हृदयघात हुन सक्छ । तर सबैमा यो कारण भने हुन्न्,’ स्थानीय अस्पतालका डाक्टर रहेका भारतीय मूलका एक मलेसियालीले भने, ‘तपाईंको सरकारले यस्ता मृत्युहरुको कारण पहिल्याउन हाम्रो सरकारसँग अनुरोध गर्नुपर्छ ।’ उनी ‘सडन अन-एक्सपेक्टेड डेथ सिन्ड्रोम’ (एक्कासी अप्रत्यासित मृत्युको लक्षण) धेरैजसो कामदारमा देखिने त्यसमा बढी नेपाली पर्नुको कारणमाथि चिकित्सकीय खोजी आवश्यक रहेको बताउँछन् । विश्वव्यापी रुपमा खासगरी शिशुहरुको मात्रै यस्तो मृत्यु हुने गरेको पाइन्छ । क्वालालम्पुरमा ८० जनासम्म कामदार एउटै कोठामा सुत्छन् । थुनिएको कोठामा न हावा आउजाउ हुन्छ, न एयरकन्डिसनकै व्यवस्था । त्यसमाथि तीब्र गर्मी । अझ चोर आउने समस्याले जति गुम्से पनि ढोका खोल्न मन नलाग्ने नेपाली व्यवसायी सुन्दर आलेको अनुभव रहेको कान्तिपुर दैनिकमा खबर छ ।

Post a Comment

 
Top