0
१२ चैत, काठमाडौं । नेकपा एमालेमा फेरि नाम र झन्डा फेर्ने कसरत सुरु भएको छ । आसन्न नवौं महाधिवेशनमा छलफलमा लैजाने गरी पार्टीका केही नेताहरुले यस्तो कसरत सुरु गरेका छन् ।  एमालेमा बेला(बेलामा नाम र झन्डा बदलिँदो परिवेश सुहाउँदो नभएको भन्दै फेर्नुपर्ने आवाज उठाउने गरिन्छ । पछिल्लो पटक यसको नेतृत्व महासचिव इश्वर पोखरेलले गरेको बताइन्छ । गत वर्ष माघमा उनकै अगुवाइमा सचिवालयले तयार पारेको विधान संशोधन प्रस्तावमा पनि पार्टीको प्रस्तावना, नाम र झन्डा फेर्नुपर्ने उल्लेख थियो ।  माघ ५ देखि ७ गतेसम्म उपाध्यक्ष वामदेव गौतमको खर्चपानीमा गोर्कण रिसोर्टमा सम्पन्न स्थायी समिति बैठकमा त्यस प्रस्तावमाथि छलफलसमेत भएको थियो । असार पहिलो हप्ता बोलाइएको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा लैजाने गरी तयार पारिएको सो संशोधन प्रस्तावलाई स्थायी समितिले पारित गरेन । पछि परिषद बैठकमा पनि रोकियो । त्यसैले त्यतिबेला उक्त प्रस्ताव अघि बढ्न सकेको थिएन् ।  मनमा भए पनि त्यत्तिकै अलपत्र अवस्थामा रहेको उक्त प्रस्ताव अब महाधिवेशनमा लैजाने गरी फेरि कसरत सुरु भएको छ ।  यसबारे पछिल्लो समयमा पार्टीका औपचारिक बैठकमा कुरा नउठे पनि केही नेताहरुले अनौपचारिक कुराकानी र छलफलहरुमा पार्टीको नाम र झन्डा फेर्ने कुरालाई जोडतोडका साथ उठाइरहेको बुधबार साप्ताहिकमा खबर छ ।  नवौं महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेज मस्यौदा लेखनको काम पछिल्लो केन्द्रीय कमिटी बैठकले उपाध्यक्ष वामदेव गौतमबाट झिकेर अध्यक्ष खनाललाई दिएको थियो । अध्यक्ष खनाल संयोजक रहेको समितिले दस्तावेज लेखनको काम अझै सुरु गरेको छैन् । दस्तावेज मस्यौदाअन्तर्गत तीन वटा प्रतिवेदन पर्छन–राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधनसम्बन्धी प्रतिवेदन । राजनीतिक प्रतिवेदनमै छलफल चलिरहेकाले विधान संशोधनमा के हुन्छ अहिल्यै भन्न नसकिने प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले बताए । उनले भने–‘नाम झन्डा फेर्ने विषय एक पटक स्थायीको छलफलमा प्रवेश गरिसकेकाले यस पटक फेरि यो विषय नउठ्ला भन्न सकिन्न ।’  महासचिव पोखरेलको नेतृत्वमा यसअघि सचिवालयले तयार पारेको संशोधन प्रस्तावमा पार्टीको नामको पछाडिबाट एमाले हटाउनुपर्ने, प्रस्तावनाबाट सर्वहारा वर्ग भन्ने शब्द झिकेर श्रमजीवी वर्ग भन्ने शब्द राख्नुपर्ने र झन्डामा हँसिया हथौडासँगै श्रमजीवी वर्गलाई प्रतिनिधित्व गराउने कलम वा अरु कुनै चिह्न राख्नुपर्ने उल्लेख छ । तर, यस विषयमा पार्टीका नेताहरुबीच तीव्र मतान्तर छ ।  एमाले विधानमा पार्टीको मार्गदर्शक सिद्दान्त माक्र्सवाद(लेलिनवाद उल्लेख छ । तर, सातौं महाधिवेशनबाटै जनताको बहुदलीय जनवादलाई नेपाली क्रान्तिको सिद्वान्त मानिसकेकाले माक्र्सवाद(लेनिनवाद शब्द हटाउनुपर्ने एकथरीको धारणा छ । तर, अर्काथरी यस्तो तर्कलाई स्वीकार्न तयार छैनन् । पोलिव्यरो सदस्य बेदुराम भुसालले भने–‘माक्सवादबिनाको जनताको बहुदलीय जनवाद नै कहाँ हुन्छ र ?’

Post a Comment

 
Top