0
गाई पाँचवटा, कुखुराको संख्या खुलेन
१२ चैत, काठमाडौं । संस्कृति, पर्यटन एवं नागरिक उड्डयनमन्त्री भीम आचार्यले सबैभन्दा पछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । संविधानसभामा नेकपा एमालेको तर्फबाट सुनसरीबाट विजयी आचार्यले गाई र कुखुरा पालेरै दशौं लाख आम्दानी गरेको प्रस्तुत विवरणमा देखिएको छ । एकरुपैयाँ पनि ऋणमा नपरेका मन्त्री आचार्यकी पत्नी नीरादेवी खनाल आचार्यका नाममा सानीमा बैंकमा १२ लाख रुपैयाँ बचत रहेको छ । सो रकम जग्गा विक्री र कुखुरापालनबाट आर्जित भएको आचार्यले जनाएका छन् । कुखुरा पालनबाट राम्रो आम्दानी हुँदोरहेछ भन्ने अर्को उदाहरण प्रस्तुत गर्दै मन्त्री आचार्यले कोशी सहकारीमा ४ लाख रुपैयाँ बचत रहेको उल्लेख गरेका छन् । उक्त ४ लाख आम्दानी कुखुरा पालन र बगैंचाबाट भएको उनले बताएका छन् । यो रकम पनि श्रीमतीकै नाममा रहेको छ । सेन्चुरी बैंकमा अस्मिता आचार्यका नाममा रहेको डेढलाख रुपैयाँ र एनएमबी बैंकमा असिम आचार्यका नाममा रहेको १ लाख रुपैयाँ समेत कुखुरापालनबाटै आर्जन भएको मन्त्री आचार्यले बताएका छन्. । एभरेष्ट बैंकमा मन्त्री आचार्यको आफ्नै नाममा ५० हजार रुपैयाँ छ । यो रकम पारिश्रमकिका साथै कुखुरा र गाईपालनबाट आर्जन भएको आचार्यको भनाइ छ ।
  बैंकमा शेयर
 मन्त्री आचार्यका परिवारका सदस्यहरुका नाममा ग्लोबल, बैंक अफ एशिया, प्राइम, सीटी डेभलपमेन्ट, सनराइज र ज्योति बैंकमा करिब ५० हजार रुपैयाँको सेयर रहेको छ । यो सबै घरायसी आर्जनबाट खरिद गरिएको मन्त्री आचार्यले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । श्रीमती र छोरीका नाममा रहेका एक-एकवटा मोटरसाइकल र स्कुटी पनि घरायसी आर्जनबाटै किनिएको आचार्यले बताएका छन् । जग्गा जमीन आचार्यका नाममा सुनसरीको मधेसा-९ शिकारी टोल स्थायी ठेगाना भएका आचार्य भक्तपुरको मध्यपुर ठिमीमा बस्छन् । मधेसा ९ मा १८ कठ्ठा, मधेसा ४ मा १ विघा ५ कठ्ठा साढे ७ धुर र इनरुवा नगरपालिकामा २ कठ्ठा पाँचधुर जग्गा रहेको छ । भक्तपुरमा ४ आना जग्गा ०६५ सालमा घरायसी आर्जनबाट लिएको आचार्यले आफ्नो विवरणमा उल्लेख गरेका छन् । सुन आफूसँग पहिल्यै ६ तोला रहेको र ०६९ सालमा थप ३ तोला खरीद गरी हाल ९ तोला रहेको मन्त्री आचार्यले बताएका छन् । घर भए नभएको सम्पत्ति विवरणमा उल्लेख छैन । लामो समय राजनीतिमा सक्रिय रहेर पनि आचार्यको परिवार नाफामा छ । साथै कुखुरा व्यवसायीहरु ब्लड फ्लुका कारण घाटामा गए पनि मन्त्रीले यही व्यवसायबाट दशलाखको हाराहारीमा आम्दानी गरेको र सुन, नगद एवं जग्गासमेत जोडेको देखिएको छ । यद्यपि कुखरापाल व्यवसाय कहाँ र कस्तो अवस्थामा सञ्चालन भइरहेको छ भन्नेबारे आचार्यले सम्पत्ति विवरणमा स्पष्ट पारेका छैनन् ।

Post a Comment

 
Top