११ चैत, काठमाडौं । : दक्ष स्वास्थ्यकर्मीको अभावमा कार्यालय सहयोगी पियनले साल भिक्न खोज्दा एकजना महिलाले पाठेघर गुमाउनु परेको छ। सुर्खेतको गामिण क्षेत्रमा पर्ने रानीबासकी चन्द्रकला रानाले स्थानीय उपस्वास्थ्य चौकीका कार्यालय सहयोगीको भर पर्दा पाठेघर गुमाउनु परेको हो।
घरमै सुत्केरी भएकी उनको साल नझरेपछि गत फागुन ३० गते उपस्वास्थ्यका कार्यालय सहयोगी नरबहादुर रोकायाले रानाको साल झिक्न खोज्ने प्रयास गरेका थिए। तर अनुभवहीन कार्यालय सहयोगी रोकायको लापरबाहीले साल बल्झिएर पाठेघर निकाल्नुपर्ने अवस्था आएको हो। ‘पीडितका आफन्तका अनुसार रोकायाले चैत २ गते नाङ्गो हात पाठेघरमा घुसाएर साल झिकेका थिए। त्यसपछि चन्द्रकलालाई झन् गाह्रो भएको थियो। रक्तस्राव अत्यधिक बढेपछि स्थानीय स्वास्थ्यकर्मीको सल्लाहमा उनलाई चार दिनअघि क्षेत्रीय अस्पताल पुर्याएको थियो। क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. भोलाराम श्रेष्ठले अन्तिम अवस्थामा ल्याइएकी चन्द्रकलाको मुस्किलले ज्यान बचाउन सकिएको बताए। ‘समयमै पाठेघरको अप्रेशन नगरेको भए उनी बाँच्ने सम्भावना निकै कम थियो,’ उनले भने, ‘समयमै सबै व्यवस्थापन गर्न सक्दा उनलाई बचाउन सकियो। उनी अस्पताल पुग्दा बेहोस अवस्थामा थिइन्। ड्यूटीमा रहेकी नर्स रजनी अधिकारीका अनुसार अप्रेसनपछि चन्द्रकलाको अवस्था सामान्य हुँदै गएको अन्नपूर्ण पोस्टमा खबर छ। चन्द्रकलाका पति चक्रबहादुर रानाले भारतमा मजदुरी गर्छन्। आर्थिक अवस्था कमजोर भएकोले उपचारमा समस्या भएको उनको भनाइ छ।चक्रबहादुरका अनुसार चन्द्रकलाको उपचारमा करिब १५ हजार खर्च भइसकेको छ।
Post a Comment