0
१० चैत, काठमाडौं । स्पेनिस ला लिगा फुटबलको इएल क्लासिको भिडन्तमा बार्सिलोनाले लिओनल मेस्सीको ह्याट्रिकको मदतमा रियल मड्रिडलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सिमित रियल मड्रिडलाई ४–३ गोल अन्तरले पराजित गरेको हो । जितपछि उपाधि होडमा फर्किएको बार्सिलोनाले रियल मड्रिड र एथ्लेटिको मड्रिडसँगको अंक दुरी एकमा झरेको छ । रियलको घरेलु मैदान सान्टिएगोमा भएको बार्सिलोनाले सातौं मिनेटमा आन्द्रे इनिष्टाको गोलबाट अग्रता लिएको थियो । उनले लिओनल मेस्सीको पासमा गोल गरेका हुन् । तर, २० औं मिनेटमा करिम बेन्जिमाले रियल मड्रिडका लागि बराबरी गोल फर्काए । चार मिनेटपछि नै बेन्जिमाले दोस्रो गोल गर्दै रियललाई २–१ को अग्रता दिलाएका थिए । खेलको ४२ औं मिनेटमा नेयमारको पासमा मेस्सीले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । खेलको ५५ औं मिनेटमा बार्सिलोनाका ड्यानी अल्भेसले क्रिष्टियानो रोनाल्डोलाई फल गरेपछि रियल मड्रिडले पेनाल्टी पायो । जसलाई रोनाल्डोले सहजै गोलमा परिणत गरेपछि रियल ३–२ को अग्रता लिन सफल भयो । तर, ६३ औं मिनेटमा नेयमारलाई फल गरेपछि रियलका सर्जिओ रामोसले रातो कार्ड पाए भने बार्सिलोनालाई पेनाल्टी दिइयो । सजमा मेस्सीले गोल गरेपछि खेल ३–३ को बराबरीमा पुग्यो । निकै तनावपूर्ण खेलको ८३ औं मिनेटमा बार्सिलोनाले दोस्रो पेनाल्टी पायो । जाभी एलोन्सोले इनिस्टालाई फल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै मेस्सीले ह्याट्रिक मात्र पुरा गरेनन्, इएल क्लासिको भिडन्तमा बार्सिलोनालाई ४–३ को जित दिलाएका छन् । अर्को खेलमा एथ्लेटिको मड्रिड १० खेलाडीमा सिमित रियल बेटिसलाई २–० ले पराजित ग¥यो । जितपछि एथ्लेटिको मड्रिड २९ खेलबाट ७० अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ भने समान अंक जोडेको रियल मड्रिड दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको बार्सिलोनाको ६९ अंक छ ।

Post a Comment

 
Top