१३ चैत, काठमाडौं । अर्थमन्त्री डा। रामशरण महतले बढीभन्दा बढी रोजगारी सिर्जना गर्न सक्ने र उच्च आर्थिक बृद्धि हासिल गर्न सक्ने पूर्वाधारका क्षेत्रमा सहयोग गर्न विश्व बैंकलाई आग्रह गरेका छन् । नेपाल भ्रमणमा आएका विश्व बैंकका उपाध्यक्ष फिलिप हाउरोसँगको भेटमा उनले उक्त सहयोगको आग्रह गरेका हुन् । उपाध्यक्ष हाउरोको नेतृत्वमा विश्व बैंकको एक टोली नेपालमा आफूले उपलब्ध गराउँदै आएको सहयोगको मूल्यांकन गर्न र आगामी दिनमा बैंकले उपलब्ध गराउने सहयोगका बारेमा सरकारको धारणा बुझ्न नेपाल आएको छ । विश्व बैंकले सन २०१४ देखि लागू हुनेगरी नेपाललाई सहायता गर्न चार बर्षे सहयोग रणनीति “कन्ट्री पार्टनरसिप स्ट्राटेजी” तयार गरी अन्तिम रुप दिन लागेको छ । अर्थमन्त्रालयमा भएको सो भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री डा महतले भने, विश्व बैंकले नेपाललाई उच्च प्राथमिकतामा राखेर सहयोग गर्नुपर्ने भएको छ । सरकारले रोजगारी सिर्जना गर्ने र उच्च आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको बताउँदै महतले यसका लागि पूर्वाधारमा लगानी बढाउनुपर्ने आवश्यकता रहेको जानकारी दिए । पूर्वाधारमा पनि ग्रामीण पूर्वाधारमा विश्व बैंकले सहयोग बढाउनुपर्ने खाँचो छ । उनले कम विकसितबाट स्तरोन्नति हुन पनि नेपाललाई ठूलो लगानी आवश्यक भएको र त्यसमा विश्व बैंकबाट नेपालले ठूलो अपेक्षा गरेको स्पष्ट पारे । विश्व बैंकलाई परियोजनाको बढी संख्याभन्दा पनि गुणस्तरीय सहयोग अर्थात बढी रकमको सहयोग गर्न पनि उनले आग्रह गरेका छन् । गुणस्तरीय सहयोगले रोजगारी सिर्जनामा ठोस मद्दत पुग्छ । उनले नेपाललाई सहयोग गर्ने दातृ निकायहरुमा यसपटकदेखि युरोपियन इन्भेष्टमेन्ट बैंक पनि प्रभावशालीरुपमा अगाडि आएको जानकारी पनि गराए । सो बैंकले नेपालको जलविद्युतको विकासमा महत्वपूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएको सो अवसरमा महतले जानकारी दिए । विश्व बैंकका उपाध्यक्षलाई बजेटरी सहयोग, काबेली आयोजनालाई सहयोग पास गर्न आग्रह गर्दै भने, सरकारले नेपाल बिद्युत प्राधिकरणलाई उत्पादन, प्रसारण बितरण गरी तीन संस्थामा विभाजन गर्ने लक्ष्य लिएको छ । यसका लागि पनि विश्व बैंकले केही कार्यक्रमहरुमा सहयोग गर्नुपर्ने भएको छ । सो अवसरमा विश्व बैंकका उपाध्यक्ष हाउरोले विश्व बैंक नेपाललाई थप सहयोग गर्न प्रतिवद्ध रहेको जानकारी गराए । कतिपय आयोजनामा काम ढिलो भएपनि धेरै क्षेत्रमा काम राम्रो भएको प्रतिक्रिया दिदै उनले विश्व बैंकले बित्तीय सहयोग बढाउने तर नेपालले आफ्नो कार्यान्वयन क्षमता बढाउनुपर्ने सुझाव पनि दिए । भेटघाटका अवसरमा अर्थसचिव शान्तराज सुवेदी, सहसचिव मधु मरासिनी मन्त्रालयका अन्य पदाधिकारीहरु, विश्व बैंकका नेपाल हेर्ने राष्ट्रिय निर्देशक जोन जट तथा अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment